भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि, यस्तो आयो पोष्टमार्टम रिपोर्ट

काठमाडौँ । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमले भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो।

जिल्ला प्रहरी कार्यालय, बैतडी स्रोतका अनुसार पोष्टमार्टममा संलग्न चिकित्सकहरुले भट्टको बलात्कार भएको रिपोर्ट दिएका छन्।

Advertisement

प्रतिकार गर्दा शरीरका टाउको र हातमा चोट लागेको भनिएको छ। भट्टको घाँटीमा पनि निलडाम छ। उनको यौनांगमा पनि घाउ रहेको पाइएको एक प्रहरी अधिकृतले जानकारी दिए। शरीरको विभिन्न भागमा देखिएको चोटपटकले उनलाई जबरजस्ती घिसारिएको जस्तो पनि देखिएको उनले जनाए।

‘हिजोसम्म हत्या मात्रै वा बलात्कारपछि हत्या भन्ने कुरामा द्विविधा थियो, अब जबरजस्तीकरणीपछि हत्या भन्ने निर्क्यौल भयो’, उनले भने।

आइतबार बिहानै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले पनि घटनास्थल पुगेर अनुसन्धानको निरीक्षण गरेका छन्।

सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भट्ट बुधबार साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरी र छिमेकी गुहारेका थिए । भट्ट विद्यालयबाट घर फर्किने बाटोमा बिहीबार बिहान मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएको थियो।

लगत्तै तालिम प्राप्त कुकुरलाई घटनास्थल लैजाँदा भट्टको मोबाइल भेटिएको थियो । प्रहरीले उनको मोबाइललाई केन्द्रमा राखेर प्राविधिक पाटोबाट अनुसन्धान अघि बढाएको छ।

More News last news
Loading...