काठमाडौँ । भारतीय एक मिडियाले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा राजनीतिक माहोल बनाउन ‘हिन्दु कार्ड’ खेल्न थालेको निष्कर्ष निकालेको छ।
भारतीय अखबार ‘पञ्चाव केसरी’ले बिहीबारको अंकमा नेपालको राजनीतिक अवस्थाबारे सम्पादकीय लेख्दै प्रधानमन्त्री ओलीले राजनीतिक माहोल आफ्नो पक्षमा पार्न हिन्दु कार्डको अस्त्र प्रहार गर्न थालेको बताएको छ। ‘नेपालमा सत्ता कायम राख्नका लागि ओलीले खेले हिन्दु कार्ड’ शीर्षकमा सो अखबारले सम्पादकीय लेखेको हो।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशको संसद भङ्ग गर्दै दुई चरणमा चुनाव घोषणा गरेपछि नेपालमा जनआक्रोस बढेको र सरकारविरोधी प्रदर्शन भइरहेको अवस्थालाई सो अखबारले सम्पादकीयको पृष्ठभूमि बनाएको छ।
केपी शर्मा ओलीको यो कदमपछि सत्तारुढ दल दुई धारमा विभाजित भएको र पार्टीको आधिकारिकतासम्बन्धी विवाद पनि बढेको जिकिर गर्दै सम्पादकीयमा लेखिएको छ, ‘नेकपाको एउटा पक्षले ओलीलाई पार्टीबाटै निष्काशन गरेको छ।’
पचासभन्दा बढी वर्षदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय ओलीले अहिलेसम्म आफूलाई नास्तिक भन्दै आएको र धर्मलाई उनले ‘अफिम’सँग तुलना गरेको पनि सो अखबारले उल्लेख गरेको छ।
‘तर अब कुर्सी खोसिन लागेको देखेर उनले आफ्नो कट्टर कम्युनिस्टवाला पहिचानमा एकाएक हिन्दुत्वको रङ भर्न थालेका उल्लेख गरेको छ।
नेपालको हिन्दु राजतन्त्रको विरोध गर्ने ओलीले अब हिन्दु धार्मिक अनुष्ठानमा अग्रसर भएर भाग लिने र मन्दिरहरुमा जान थालेका छन्,’ सम्पादकीयमा लेखिएको छ, ‘गत साता उनी काठमाडौंस्थित प्रसिद्ध पशुपतिनाथको मन्दिरमा पत्नी राधिकाका साथ विशेष पूजाका लागि गए, उनले त्यहाँ सवा घण्टा पूजा–अर्चना गरे र सवा लाख बत्ती बाले ।’
यस अवसरमा ओलीले मन्दिरमा लगाउनका लागि १०८ किलो सुन खरिद गर्न ३० करोड रुपैयाँ दिने घोषणासमेत गरेको भन्दै सो अखबारले आफ्नो सम्पादकीयमा लेखेको छ, ‘उनले संसद भङ्ग गरेपछिको जनआक्रोस कम गर्ने प्रयासस्वरुप यसो गरेको मानिएको छ ।’
सम्पादकीयमा अगाडि लेखिएको छ, ‘ओलीको यो कदमलाई संविधानमाथिकै हमला भनिएको छ, किनकि नेपालको संविधानले देशलाई धर्मनिरपेक्ष राज्यको दर्जा दिएको छ।’
नेपालका सम्बन्धमा निकै कम ‘स्पेश’ दिने भारतीय अखबारमा नेपाली राजनीतिक अवस्थालाई केलाएर सम्पादकीय लेखेका उदाहरण निकै कम पाइन्छ। यद्यपी नेपालको पछिल्लो राजनीतिक घटना क्रमलाई केलाएर बिहीबार उक्त अखबारले सो सम्पादकीय लेखेको हो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
