काठमाडौँ । आउँदो बिहीबारदेखि बदली भई पानी पर्ने र हिमपात हुने मौसमविदले पूर्वानुमान गरेका छन्।
पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि शनिबारसम्म मौसममा परिवर्तन हुने भएको हो। अब यो मौसमी प्रणाली बाहिरिएपछि गर्मी सुरु हुने मौसमविदको भनाइ छ।
मौसमविद शान्ति कँडेलले भनिन्, ‘अहिलेसम्मको परिस्थिति हेर्दा बिहीबारदेखि शनिबारसम्म मौसममा बदली हुने, वर्षा र हिमपात हुनेजस्तो देखिन्छ। यो सिस्टम गइसकेपछि तापक्रम वृद्धि हुँदै जान्छ।’
मौसममा बदली नेपालको पश्चिमी भागबाट सुरु हुने मौसमविद कँडेल बताउँछिन्। यो मौसमी प्रणाली रहुन्जेल अधिकतम तापक्रम घट्छ। तराईको हुस्सु कुहिरो पनि हट्छ।
‘त्यसले गर्दा तराईमा बिहानीपख हुस्सु कुहिरो नलाग्दा केही राहत महसुस हुन्छ। तर पहाडी क्षेत्रहरुमा बदली भएर घाम नलाग्दा चिसो महशुस हुन्छ। तापक्रमको आधारमा न्यूनतम तापक्रम घट्ने खासै हुँदैन,’ मौसमविद कँडेलले भनिन्।
घाम नलाग्दा दिउँसोमा अधिकतम तापक्रम घटे पनि बिहानमा कठ्यांग्रिने जस्तो जाडो अब नहुने मौसमविदको भनाइ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
