संविधानभन्दा माथि बस्‍ने राष्ट्रपति र प्रधानमन्त्रीको चाहनाः प्रदीप पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले राष्ट्रपति र प्रधानमन्त्री संविधानभन्दा माथि बस्‍न चाहेको आरोप लगाएका छन्।

नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर ६ ले शुक्रबार सहिद दिवसको अवसर पारेर शान्ति वाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

Advertisement

संविधानभन्दा माथि कसैलाई पनि नराख्न राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याएको स्मरण गर्दै नेता पौडेलले भने, “तर, राष्ट्रपति र प्रधानमन्त्रीले संविधानभन्दा माथि बस्न चाहिरहनुभएको छ।”

उनले पार्टीको आन्तरिक किचलो बढ्दै गएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको आरोप लगाए। “प्रचण्ड–माधव नेपालसँग रिस उठेर प्रधानमन्त्रीले संसद् विघटन गर्नुभएको हो,” नेता पौडेलले प्रश्न गरे, “कसैसँग रिस उठेका आधारमा संसद् विघटन गर्न पाइन्छ ?”

उनले प्रधानमन्त्री ओलीलाई गणतन्त्रविरोधी नेताको संज्ञा दिए। “केपी ओली गणतन्त्रवादी नेता होइनन्,” पौडेलले भने, “उनी गणतन्त्रविरोधी नेता हुन् ।”

उनले नेपालमा समृद्धि नआउनुको प्रमुख कारण प्रधानमन्त्री ओली भएको पनि ठोकुवा गरे। “देशमा समृद्धि नआउनुको कारण केपीले देशको नेतृत्व गरेका कारण हो,” नेता पौडेलले भने।

More News last news
Loading...