काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। आजको बैठकमा प्रतिनिधिसभा विघटन विरुद्ध सडक आन्दोलन र विरोध कार्यक्रमलाई निरन्तरता दिन सभापति शेरबहादुर देउवामाथि दबाब बढ्ने देखिन्छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको सडक संघर्षलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ। हिजो पार्टी महामन्त्री शशांक कोइरालाको निवासमा बसेको समूहको बैठकले आज बस्ने केन्द्रीय समिति बैठकमा सडक संघर्षको निरन्तरलाई छलफलको एजेन्डा बनाउने निर्णय गरेको छ।
विघटनविरुद्ध सडक संघर्ष गर्ने या अदालतको निर्णय कुर्ने भन्ने विषयमा काँग्रेसभित्र दुई धार देखिएको छ। सभापति शेरबहादुर देउवा मध्यावधि निर्वाचनको पक्षमा देखिँदा पौडेल पक्षले विघटनविरुद्धको सडक संघर्षलाई प्राथमिकता दिनु पर्ने अडानमा देखिएको छ।
बैठकपछि प्रतिक्रिया दिँदै नेता पौडेलले पार्टीले आगामी दिनमा कस्तो कदम चाल्ने भनेर निकटहरुसँग परामर्श गरिएको जानकारी दिए। छलफलले पार्टीको आसन्न १४ औं महाधिवेसन ग्यारेन्टी गर्न सभापति देउवालाई दवाब दिने निर्णय गरेको छ।
पार्टी समायोजनको बाँकी काम सकेर माघभित्रै क्रियाशील सदस्यताको टुंगो लगाउन र महाधिवेशनको नयाँ कार्यतालिका सीध्र सार्वजनिक गर्न आजको केन्द्रीय समिति बैठकमा सभापतिलाई दवाब दिने निर्णय भएको पौडेल समुहको बैठकमा सहभागी एक नेताले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
