हेटौंडा । चौथो र पाँचौं तहका कर्मचारी माग गरेर परीक्षासमेत सफलतापूर्वक सम्पन्न गरिसकेको बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले पहिलोपटक अधिकृतस्तरका कर्मचारी माग गरेको छ। आयोगले छैटौं तहका अधिकृतस्तरका कर्मचारी माग गरेको हो।
लोकसेवा आयोगले प्रशासनतर्फ ५९ जना र बाँकी प्राविधिकतर्फका कर्मचारी माग गरेको छ। माग गरिएका कर्मचारीमा लेखातर्फ ६ जना, शिक्षामा ६ जना, तथ्यांकमा १ जना, सिभिल इञ्जिनियरतर्फ १४ जना, बिल्डिङतर्फ इञ्जिनियर २ जना, वातावरण इञ्जिनियर १ जना, कृषिप्रसारमा २५ जना, कृषि बागवानीमा १ जना, कृषि बाली संरक्षणमा २ जना, पोल्ट्री डेरी डेभलपमेन्टमा ९ जना, मत्स्यमा १ जना, भेटेरिनरीमा १९ जना, कृषि एग्रीमा १ जना कर्मचारी छन्।
प्रदेशका विभिन्न स्थानीय तहका लागि अधिकृतस्तरका कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोग हेटौंडा अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए।
बागमती प्रदेशको प्रदेश लोकसेवा आयोग हेटौंडा कार्यालयले अधिकृतस्तरका एक सय ४९ जना खुलाबाट र २५ जना बढुवातर्फका कर्मचारी माग गरेको उनले बताए।
बिकट क्षेत्रका स्थानीय तहमा कर्मचारी आबश्यक रहे पनि करारमा राख्नसमेत अभाव भएकाले लोकसेवा आयोगमार्फत् कर्मचारी माग गरिएको हो।
प्रदेश लोकसेवा आयोगले निजामती सेवासम्बन्धि प्रचलित कानुनको व्यबस्थाबमोजिम पद संख्या निर्धारण गरी पदपूर्ति गर्ने प्रतिवद्धता जनाएको थियो।
प्रदेश सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाएर जनतालाई सर्वसुलभ सेवा प्रदान गर्न अहम् भूमिका खेल्ने सक्षम जनशक्ति समयमा नै आपूर्ति गर्ने कार्य प्रदेश लोकसेवा आयोगको भएको कुरालाई गम्भीरतापूर्वक मनन् गर्ने भएको छ।
प्रदेश सरकार तथा स्थानीय तहलाई प्रभावकारीरुपमा कार्यसम्पादन गर्न आबश्यक पर्ने योग्य जनशक्ति यथासमयमा पदपूर्ति गरी जनशक्ति व्यबस्थापनमा टेवा पु-याउने प्रतिवद्धता जनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
