काठमाडौँ । पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले घुँडा नटेकेसम्म सडक संघर्ष जारी रहने बताएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौँमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले प्रधानमन्त्री ओलीले घुँडा नटेकेसम्म संघर्ष जारी रहने बताएका हुन्।
‘ओलीको कदम प्रतिगमन हो। तर केपी ओलीले राजनीतिक कदम हो भन्दै हिँडेका छन्। संविधानभन्दा बाहिर गएर कसैले कदम चाल्न सक्छ ? यही संविधानअन्तर्गत बनेका प्रधानमन्त्रीहरुले संविधान बाहिर गएर कदम चाल्ने हक छैन। यो प्रतिगामी कदम हो। त्यसको विरुद्ध हामी सडकमा हुनेछौं। केपी ओलीले ओलीले घुँडा नटेकेसम्म हामी अगाडि बढ्छौं,’ खनालले भने।
ओलीले प्रतिक्रान्तिको थालनी गरेको भन्दै खनालले उनको कदमलाई सफल हुन नदिइने पनि बताए। उनले भने, ‘यो संविधान विरोधि, लोकतन्त्र विरोधी घटना हो। केपी ओलीले प्रतिक्रान्तिको थालनी गरेका छन्। देशलाई अस्थिरतामा लैजाने थालनी भएको छ। देशलाई अस्थिरतामा जानबाट बचाउनु पर्छ।’
वरिष्ठ नेता खनालले ओलीलाई पार्टी सदस्यबाट निस्कासन गरिएको पनि बताएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
