अनलाइन सञ्चार माध्यम नविकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । अनलाइन संचारमाध्यम नवीकरण गर्ने ब्यवस्था खारेजीको माग गर्दै सर्बोच्चमा रिट दायर भएको छ। अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नु पर्ने प्रावधानको विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको हो।

पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णु गिरी निश्चलले सोमबार सर्बोच्च अदालतमा रिट दायर गरेका हुन्।

Advertisement

मानव अधिकार, समानता, सीमान्तकृत वर्ग एवम् क्षेत्रका नागरिकहरूको हक अधिकार संरक्षणका साथै अन्य सार्वजनिक सरोकारका विषयहरूमा सामाजिक तथा कानुनी क्षेत्रमा वकालत गर्दै आइरहेका अधिवक्ताद्वयले नेपालको संविधान तथा संचारसम्बन्धी कानुनले पत्रपत्रिकाको दर्ता कहिल्यै खारेज नहुने ब्यवस्था गरेको अबस्थामा सूचना तथा प्रसारण विभागले दर्ता गरेर संचालन अनुमति दिएका अनलाइन पत्रपत्रिकालाई भने हरेक वर्ष आर्थिक वर्ष सकिएपछि नवीकरण गर्नै पर्ने बाद्यकारी ब्यवस्था गरेर संविधानसँग बाझिने ब्यवस्था गरिएकाले उक्त प्रावधान खारेजीको माग रिटमा गरिएको छ।

अनलाइन सञ्चारमाध्यम सञ्चालन (पहिलो संशोधन) निर्देशिक २०७४ मा अनलाइन संचारमाध्यम दर्ता भएपछि नवीकरण गर्नु पर्ने ब्यवस्था गरिएकोे छ।

एक पटक दर्ता भइसकेका अनलाइन समयमा नवीकरण नगरे सूचना तथा प्रसारण विभागले दर्ता खारेज गर्ने गरेको छ।

उक्त निर्देशिकाको दफा ६ (१) मा दर्ता भएका अनलाइन सञ्चारमाध्यमले प्रत्येक वर्षको असार मसान्तभित्र विभागमा नवीकरण गराउनु पर्नेछ, भन्ने ब्यवस्था छ।

त्यस्तै उपदफा २ मा उपदफा (१) बमोजिम नवीकरण गराउँदा विभागले तोकेको ढाँचामा अघिल्लो आर्थिक वर्षको कर चुक्ताको प्रमाणपत्र तथा लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि समेत पेश गर्नु पर्नेछ।

म्यादभित्र नवीकरण नगराउने अनलाइन सञ्चारमाध्यमको सेवा प्रचलित कानून बमोजिम रोक लगाउन सकिने ब्यवस्था छ।

उक्त निर्देशिका सूचना तथा प्रसारण सम्बन्धी कुनै पनि ऐन नियमसँग सम्बन्धित छैन। सरकारले अरु नै कामलाई नियमित गर्न ल्याएको सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन¸२०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी अनलाइन संचारमाध्यमलाई अंकुश लगाउने गरी यो निर्देशिका जारी गरेको हो।

नेपालको संविधान २०७२ ले समेत प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ। संविधानको धारा १७ ले स्वतन्त्रताको हक, धारा १८ ले समानताको हक, धारा १९, धारा २७ ले सूचनाको हक प्रदान गरेको छ।

यस्तै, धारा १९ (२) मा भनिएको छ, कुनै श्रव्य, श्रव्यदृश्य वा विद्युतीय उपकरणको माध्यम वा छापाखानाबाट कुनै समाचार, लेख, सम्पादकीय, रचना, सूचना वा अन्य कुनै सामग्री मुद्रण वा प्रकाशन, प्रसारण गरे वा छापे बापत त्यस्तो सामग्री प्रकाशन, प्रसारण गर्ने वा छाप्ने रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिटल वा विद्युतीय उपकरण, छापा वा अन्य सञ्चार माध्यमलाई बन्द, जफत वा दर्ता खारेज वा त्यस्तो सामग्री जफत गरिने छैन।

More News last news
Loading...