ट्रिपिङ घट्दा छिनछिनमा विजुली गयो : प्राधिकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालगायत देशका कुनै पनि स्थानमा घोषित वा अघोषितरूपमा विद्युत्भार कटौती नभएको पुनः दोहो-याएको छ।

प्राधिकरणले प्राविधिक समस्याका कारण एकाध मिनेट वा केही घण्टा कहीँकतै बिजुली काटिएको भए पनि त्यसलाई लोडसेडिङको रूपमा नबुझ्न पुनः आग्रह गरेको हो।

Advertisement

प्राधिकरणले विगतमा जस्तै उपभोक्ताबाट सक्रियरूपमा साथ र सहयोग प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरेको छ।

केही समयदेखि अघोषितरूपमा बिजुली काटिन थालेपछि प्राधिकरणले पटक–पटक उपभोक्तालाई सही र तथ्यपूर्ण जानकारी दिने प्रयाससमेत गरेको जनाएको छ।

उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन र सबस्टेशन सुदृढीकरणका लागि चालिएका कदमबाट विद्युत् छिनछिनमा जाने (ट्रिपिङ)को समस्या घट्दै गएको समेत प्राधिकरणले दाबी गरेको छ।

जाडोको समयमा बढी विद्युत् माग हुँदा त्यसबाट पर्ने प्रभावलाई कम गर्नसमेत वितरण प्रणालीमा सुधार तथा अन्य सबै प्रकारका उपायको अवलम्बन गरेको दाबी गर्दै प्राधिकरणले कुनै पनि स्थानमा समस्या देखिएको खण्डमा त्यसलाई निराकरणका लागि आम उपभोक्ताको सक्रिय साथ तथा सहयोगको अपेक्षा गरेको छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार विद्युत्को माग सबैभन्दा बढी हुने काठमाडौँ उपत्यकामा यस वर्षको मङ्सिरमा ३४७ पल्ट ट्रिपिङ भएको जनाएको छ।

काठमाडौँ उपत्यका र यस आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सबस्टेशनमा ट्रिपिङ हुँदा कूल २२ घण्टा विद्युत् अवरोध भएको जानकारीसमेत दिएको छ। गत वर्षको मङ्सिरमा ५७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत् आपूर्ति बन्द भएको प्राधिरकणको विवरणमा उल्लेख छ ।

प्रणालीमा मागअनुसार आपूर्तिका लागि पर्याप्त विद्युत् रहेकाले घोषित/अघोषितरूपमा विद्युत् कटौती (लोडसेडिङ) नगरिएको प्राधिकरणका कायममुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिनुभयो ।

उहाँले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सर्फमर सार्नुपर्र्नेलगायतका प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत् कटौती भएको हुनसक्ने बताउनुभयो ।

More News last news
Loading...