काठमाडौँ । राष्ट्रियसभाको हिउँदे अधिवेशन आजबाट सुरू हुँदैछ। हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमा आज सबै दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची तय भएको छ।
बिहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्दै आजको बैठकमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका नेताबाट सम्बोधन गर्ने निर्णय गरेको हो।
बैठकको शुरुमै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउनेसँगै मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रसमेत सभामा पेश हुनेछ। सभामा अध्यादेशहरु समेत टेवल हुने र विभिन्न समितिका प्रतिवेदनसमेत पेश गर्ने कार्यसूची तय भएको छ।
तर संविधान, कानून र संसद् नियमावलीले राष्ट्रियसभाले बनाउने कानूनलाई प्रतिनिधिसभाले पारित गरे मात्र अन्तिम रूप पाउने व्यवस्था गरेकाले थप कानून नबन्ने निश्चित भएको छ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सरकारले वैशाख १७ र २७ का लागि मध्यावधि चुनाव घोषणा गरेको छ।
सरकारको सो कदमविरूद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ। सोही प्रकरणपछि सत्तारूढ नेकपा विभाजन भएको छ। यद्यपि त्यसले वैधता पाइसकेको छैन। दाहाल-नेपाल समूह र ओली समूहबीचको समान्तर बैठकले पुस ५ को प्रकरणको विरोध र बचाउ गरिरहेका छन्।
यो विषयले राष्ट्रियसभामा पनि प्रवेश पाउने देखिएको छ। दाहाल-नेपाल समूहका सदस्यहरूले सरकारको पुस ५ को कदमको आलोचना गर्नेछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
