काठमाडौँ । संयुक्त अधिराज्यमा नयाँ प्रकारको भाइरसको प्रकोप फैलिइरहेका बेला नेपाल आएका यात्रुलाई अनिवार्यरुपमा होटल क्वारेन्टाइनमा बस्न सरकारले निर्देशन दिएको छ।
सो नयाँ भाइरस नियन्त्रण तथा रोकथामका लागि नेपालले विदेशबाट आउने सबैलाई १० दिन होटल बसी कोरोना परीक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना नै जारी गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार जारी गर्नुभएको सूचनामा पुस १ देखि ७ गतेसम्म संयुक्त अधिराज्यबाट नेपाल आएका र सोही बाटो हुँदै नेपाल आएका सम्पूर्ण यात्रुलाई १० दिन क्वारेन्टाइनमा बस्न अनिवार्य भएको उल्लेख गरेका छन्।
संयुक्त अधिराज्यमा फैलिएको नयाँ रोग नेपालमा नफैलियोस् भन्ने हेतुले संक्रमण फैलिएको मुलुकबाट फर्कने सबैलाई ७ देखि १० दिनभित्र पीसीआर परीक्षणका लागि निःशुल्क व्यवस्था मिलाइएको पनि सूचनामा उल्लेख गरिएको छ।
डा. गौतमले सरकारी प्रयोगशालामा गएर निःशुल्क परीक्षण गर्न सकिनेसमेत उल्लेख गरेका छन्। एक वर्षदेखि फैलिएको कोरोना भाइरसले विश्वमा नै त्रास सिर्जना गरिरहेका बेला पुनः नयाँ भाइरसले यति बेला विश्वलाई सोच्न बाध्य बनाएको छ।
नेपालले पनि कोरोनाबाट पाठ सिकेकै कारण यो जुनसुकै बेला जहाँसुकै फैलन सक्ने माध्यम भनेको विदेशको यात्रा भएको पहिचान गरी बुधबारदेखि उच्च सतर्कता अपनाउन संयुक्त अधिराज्यबाट र सोही स्थान हुँदै आउने सबै उडान बन्द गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
