बीबीसी मास्टरसेफ यूकेको ग्रान्ड फिनालेमा नेपाली सेफ सन्तोष शाह

काठमाडौँ । विगत केही हप्तादेखि बीबीसी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ का प्रतियोगी नेपाली सेफ सन्तोष शाह प्रतियोगिताको शीर्ष तीनमा पर्न सफल भएका छन्। योसँगै उनी ग्रान्ड फिनालेमा प्रवेश गरेका छन्।

शुक्रबार आयोजना हुने कार्यक्रमको ग्रान्ड फिनालेमा उनले दुईजना विरुद्ध आफ्नो उत्कृष्ट पाककला प्रस्तुत गर्नेछन्।

Advertisement

बिहिबारको शोमा सन्तोषले जिम्बुले झानेको भेडाको मासुलाई गुन्द्रकमा बेह्रेर चर्चित सेफको टेबलमा पस्केका थिए। यसका साथै उनले स्पाइसी सोयाबिन क्रम्ब्स, पुदिनाको पराठा, बोन म्यारो ससलगायतका खानाले निर्णायकहरुको मन जिते।

यस्तै, कार्यक्रमको दोस्रो चरणमा सन्तोषलगायत त्यहाँ उपस्थित सेफलाई आफूलाई सबैभन्दा मनपर्ने मानिसका लागि खाना बनाउन भनियो।

सन्तोषले आफू १२ वर्षको हुँदा स्थानीय नहरमा काम गर्दाको समयलाई स्मरण गर्दै आफ्नी आमाका लागि खाना बनाए। कामको बीचको ब्रेक हुन्थ्यो। ब्रेकमा आमाले उनलाई खाजा ल्याइदिन्थिन्।

आमा-छोरा दुबै सँगै खान्थे। उनले आफ्नो विशेष समयलाई स्मरण गर्दै अन्जिर र अदुवा भरेर चिप्ली भिन्डी तारे, आँप र नरिवलको चटनी बनाए, आलु, मेथी र अनारको सलाद बनाए, केसर हालिएको भात, गँगटोको तरकारी सस, तारेको हरियो खुर्सानीसँगै पुरी बनाए। साथै उनले चकलेट र ऐंसेलुको सम्मिश्रणले उत्कृष्ट डिश तयार पारे।

यो चरणमा पनि निर्णायक सन्तोषको सृजनशीलता र मसलाहरुको सम्मिश्रण देखेर चिकत परे। शुक्रबार ‘मास्टरसेफ च्याम्पियन २०२०’ को उपाधिका लागि उनको अन्य दुई सेफसँग कडा टक्कर हुनेछ।

More News last news
Loading...