काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मंगलवार जारी गरिएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमति जनाएका छन्।
नेकपाका एक स्थायी कमिटी सदस्यले दिएको जानकारी अनुसार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको छलफलपछि ओली अध्यादेश फिर्ता गर्न सहमत भएका हुन्।
नेकपा भित्रको विवादका बीच ओलीले मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए। उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजै जारी गरेकी थिइन्।
अध्यादेश जारी हुनासाथ प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तारुढ दलकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले प्रधानमन्त्री ओलीको चर्को विरोध गरेका थिए। नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले उक्त अध्यादेश तुरुन्तै फिर्ता गर्नुपर्ने बताउँदै आएका थिए ।
नेकपा विवाद चरम उत्कर्षमा पुगेका बेला अध्यक्ष केपी शर्मा ओलीले मंगलवार बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएका थिएनन् ।
त्यस्तै २८ गते पनि ओलीले बोलाएको बैठकमा सभामुखसहित काँग्रेस सभापति शेरबहादुर देउवा पनि उपस्थित भएका थिएनन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
