काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि मंगलबार बिहान डाकिएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ। प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।
प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठकस्थल पुगे पनि कोरम नपुगेको हो।
प्रधानमन्त्रीको अध्यक्षता रहने परिषद्मा प्रमुख प्रतिपक्ष दलको नेता, प्रधान न्यायाधीश, सभामुख, उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष सदस्य हुन्छन् ।
संवैधानिक परिषद्सम्बन्धी ऐनमा बैठक बस्न ६ सदस्यीय परिषद्का कम्तीमा पाँच जना उपस्थित हुनै पर्ने प्रावधान छ। उपसभामुख पद अहिले रिक्त रहेकाले बैठकका लागि अहिले कायम रहेका पाँचै जना अनिवार्य उपस्थित हुनै पर्ने अवस्था छ।
यस्तोमा सभामुख सापकोटा नगएपछि बैठकमा कोरम नपुगेको हो । विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिसका लागि बस्न लागेको परिषद् बैठकका लागि प्रधानमन्त्रीले आवश्यक गृहकार्य र सल्लाह नगरेको भन्दै सभामुख सहभागी नभएका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
