नौ महिनापछि पुस २ गतेबाट काठमाडौँ-दिल्ली उडान सञ्चालन हुँदै

काठमाडौँ । कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ। आगामी पुस २ गतेदेखि काठमाडौ–नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो।

काठमाडौ-नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन्। दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनःशुरु गर्न अनुमोदन गरिएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ।

Advertisement

नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र भारतको एयर इण्डियाले दैनिक उडान गर्नेछन्।

नेपाल एयरलाइन्सले बन्दाबन्दीका कारण विसं २०७६ चैत १० -(२३ मार्च सन् २०२०) गतेदेखि काठमाडौँ–दिल्ली उडान स्थगित भएको थियो।

कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ गतेदेखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब छ महिनापछि गत भदौ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान शुरु भएको थियो।

कोरोना सङ्क्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो। यही मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो।

More News last news
Loading...