सुर्खेत । कर्णाली प्रदेशमा गुणस्तरीय र पहुँच योग्य आँखा सेवा विस्तार गर्न नेपाल नेत्रज्योती संघ र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) साझेदारीमा कार्य गर्ने भएका छन्।
सो को लागि आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा एक कार्यक्रम बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।
नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिव भरतबहादुर चन्द र नेरेसोको तर्फबाट महामन्त्री पिताम्बर अर्यालले आगामी ५ वर्ष सहकार्य गर्ने गरी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल रेडक्रसले कर्णाली प्रदेशमा स्थापना गरेको सुर्खेत आँखा अस्पतालको क्षमता अभिबृद्धि गरी एकिकृत कर्णाली आँखा कार्यक्रम विस्तार गरी रिफरल अस्पताल बनाउन दुवैपक्ष सहमत भएका हुन्।
कार्यक्रममा नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले नेपाल रेडक्रसले आँखा सेवालाई प्राथमिकता दिँदै आएको र स्वीस रेडक्रस लगायत संस्थाहरुकोे सहयोगमा आँखा सेवाका साथै पोषण, स्वास्थ्य र सरसफाई जस्ता गतिविधिहरु एकिकृत गरी समुदायमा सेवा पुर्याएको जानकारीे दिए।

नेपाल नेत्रज्योती संघका अध्यक्ष चेतराज पन्तले भने ”कर्णाली प्रदेशका जनताले अन्धोपन र बहिरोपन निवारण सम्बन्धी सेवा र प्रतिफल पाऊन भन्ने उद्धेश्यले यो सम्झौता गरिएको हो।”
सम्झौतामा हस्ताक्षर गर्दै नेरेसो महामन्त्री पिताम्बर अर्यालले भने, रेडक्रसको स्वयंसेवकको सञ्जाल र नेत्रज्योति संघको आँखा सेवामा प्राविधिक क्षमताको सवल पक्षहरुलाई मिलाएर कर्णालीका समुदायलाई सेवा गर्ने समझदारीलाई सफल बनाउन स्थानीय स्तरको सहकार्यलाई सुदृढ बनाइने छ।
सोही अवसरमा नेपाल नेत्रज्योती संघका महासचिव भरत बहादुर चन्दले कर्णाली प्रदेशलाई लक्षित गरी दुवैसँस्था संगै काम गर्ने सन्देश आफैमा सुखद रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा नेपाल नेत्रज्योती संघका कार्यकारी निर्देशक, कर्णाली कार्यक्रम संयोजक, रेडक्रसका स्वास्थ्य सेवा विभागका निर्देशक पवन गुप्ता, सञ्चार विभाग निर्देशक दिव्यराज पौडेल लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो।
सुर्खेत आँखा अस्पतालको क्षमता अभिबृद्धिगरी समुदायमा आँखा सेवालाई प्रभावकारी बनाउन र यसमा प्रदेश र स्थानीय सरकार, स्वीस रेडक्रस, सिविएम इन्टरनेशनलका साथै अरु सरोकारवालासँग पनि सहकार्य बढाउन दुवै सँस्था सहमत भएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
