काठमाडौँ । बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान शुरुआत भएको छ। कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको देशको पर्वतीय उडान औपचारिक रुपमा खुलेको हो।
महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एअर र यती एअरलाइन्सले पर्वतीय उडान शुरु गरेका हुन्।
बुद्ध एअरले आज एक एटिआर-७२ र दुई थान एटिआर-४२ जहाजमार्फत तीन उडान गर्यो। जम्मा १ सय ५० यात्रु पर्वतीय उडानमा सहभागी थिए।
त्यस्तै यती एअरलाइन्सले एक एटिआर–७२ र एक जेटस्ट्रिम जहाजबाट ९२ यात्रुलाई पर्वतीय उडान गराएको कम्पनीले जनाएको छ।
यी दुवै कम्पनीले अब हरेक शनिबार पर्वतीय उडान गर्नेछन्। यात्रुको माग बढेमा उडान थप्ने उनीहरुको योजना छ।
यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले शुरुआती पर्वतीय उडान उत्साहवर्द्धक रहेको र थप उडानको बुकिङसमेत राम्रो रहेकालेबीचमा उडान सङ्ख्या पनि बढाउन सकिने बताए।
यतीले हरेक शनिबार दुई पर्वतीय उडान गर्नेछ। बुद्ध एअरले पनि तीन उडान गर्ने जनाएको छ। सामान्य अवस्थामा बुद्धले पर्यटकीय मौसममा दैनिक आठदेखि नौ र कम्तीमा चार उडान गर्ने गरेको थियो।
बुद्धले पर्वतीय उडानका लागि आठ हजार नौ सय रुपैयाँ भाडादर तोकेको छ। अहिले पर्वतीय उडानका लागि अनुकूल मौसम मानिन्छ। सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमश्रङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान निकै आकर्षक मानिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
