काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा भ्रष्टाचारीको संरक्षण स्वयं प्रधानमन्त्रीले गरिरहेको किटानी हुनु देशकै लागि लज्जास्पद विषय भएको बताएको छ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती निकालेर यसबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको छविमा असर पुगेको भिन्दै सत्तारुढ पार्टीले संस्थागत धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।
विज्ञप्तीमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपालको भ्रष्टाचारसम्बन्धी प्रतिवेदन पढ्न आग्रह समेत गरिएको छ।
काँग्रेसले वर्तमान सरकार बनेपछि देशमा भ्रष्टाचार व्यापक बढेको र प्रधानमन्त्री स्वयंले संरक्षण गरेको भनेर नेपाली काँग्रेसले व्यक्त गरिआएको समिक्षालाई ट्रान्सपरेन्सी इन्टरनेशनलको ताजा प्रतिवेदनले पुष्टि गरेको उल्लेख छ।
एकातर्फ भ्रष्टाचारीको अनुहारसम्म हेर्दिन भनेर अभिव्यक्ति दिने र अर्कातर्फ भ्रष्टाचारको अनेक प्रकरण ढाकछोप गर्न ओहोदाकै मर्यादासम्म प्रधानमन्त्रीले बिर्सिदिने गरेका कारण भ्रष्टचार झाँगिएको काँग्रेसको ठहर छ।
अरु क्षेत्रको शक्ति प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरेर अति शक्तिले अति भ्रष्ट बनाउंछ भन्ने मान्यतालाई पुष्टि गर्न तर्फ लाग्ने अनि भ्रष्टाचार विरुद्ध उठेका आवाजलाई पूर्वाग्रहपूर्ण देख्ने यस्तो प्रवृत्तिले दशेमा झनै बेथिति र भ्रष्टाचार बढाउने भन्दै काँग्रेसले वाइड बडि, बालुवाटार, यतीदेखि सेक्युरिटी प्रीन्टिङ प्रेस हुँदै स्वास्थ सामग्री खरिद सम्ममा भएको भ्रष्टाचार प्रकरण उपर निष्पक्ष छानबिन र कडा कार्वाहीको माग गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
