चन्द्र ढकाल प्यानलको ‘भिजन २०२५’ सार्वजनिक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलले आफ्नो कार्यकालमा गरिने कार्यलाई समेटेर एजेन्डास्वरूप ‘एफएनसीसीआई भिजन २०२५’ सार्वजनिक गरेको छ।

भिजनअनुसार लगानी, उत्पादकत्व, रोजगारी, आवागमन र उपभोग सबै पक्षमा कोभिडले पारेको असरका कारण अर्थतन्त्र शिथिल भएको छ। पर्यटन, आतिथ्य र चलचित्रजस्ता उद्योग विगत आठ महिनादेखि आंशिक रूपमा पनि सञ्चालन हुन सकेका छैनन्।

Advertisement

साना मझौला तथा स्वरोजगारमा आधारित र अनौपचारिक क्षेत्रका ४ लाख उद्योग व्यवसाय बन्द भएको तथ्यांक सार्वजनिक भएको छ ।

सानादेखि मझौला एवं ठूला सबै प्रकृतिका उद्योग व्यवसायमा असर परेको छ। तीमध्ये अधिकांश प्रत्यक्ष नगद राहत कार्यक्रमविना पुनर्जीवित हुनै नसक्ने जोखिम देखिएको छ।

महासंघ र यसको नेतृत्वको पहिलो जिम्मेवारी यी उद्योग व्यवसाय पुनः सञ्चालन गराउनमा केन्द्रित हुने जनाइएको छ।

सरकारलाई पूरक बजेट नै ल्याएर भएपनि थप राहतका कार्यक्रम ल्याउन सुझाव र दबाब महासंघले दिने कुरा भिजनमा उल्लेख छ।

पूर्वाधार, औद्योगीकरण, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, सेवा आदि सबै क्षेत्रमा ठूलो लगानी भित्र्याउन अपरिहार्य रहेको भिजनमा जनाइएको छ।

लगानी बोर्ड, औद्योगिक प्रवर्द्धन बोर्ड तथा उद्योग विभागबाट भित्रिने लगानीको सहजीकरण गर्न महासंघमा व्यावसायिक लगानी सहजीकरण शाखा नै स्थापना गरी अनलाइन र प्रत्यक्ष निःशुल्क परामर्श सेवा प्रदान गर्ने योजना छ।

More News last news
Loading...