पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालाको ८५ प्रतिशत काम सम्पन्न

पोखरा । पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाको हालसम्म ८५ प्रतिशत हाराहारीमा काम सकिएको छ।

विसं २०७६ असार मसान्तभित्र सम्पन्न गर्ने गरी आधुनिक र सुविधा सम्पन्न रङ्गशाला निर्माणका लागि विसं २०७५ पुसमा सम्झौता भएकामा सोही वर्ष फागुनमा शिलान्यास गरिएको रङ्गशालाको काममा ढिलाइ भएको छ।

Advertisement

सम्झौता भएको आर्थिक वर्षभित्रमा रङ्गशाला सम्पन्न गर्ने भनिएको थियो तर यसबीचमा आयोजनाको हालसम्म चार पटक म्याद थप भए पनि कामले पूर्णता पाउन सकेको छैन।

पछिल्लो पटक यही मङ्सिर मसान्तभित्रमा काम सम्पन्न गरेर रङ्गशाला हस्तान्तरण गर्नुपर्ने भए पनि अझै थप दुई/तीन महिना समय लाग्ने देखिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका इञ्जिनीयर प्रनिश ताम्राकारले बताए।

गत वर्ष मङ्सिरमा पोखरामा सम्पन्न भएको १३ औँ सागअघिनै रङ्गशाला निर्माण गरिसक्नुपर्ने दोस्रो पटकको म्यादमा काम पूरा नभएपछि मैदान ‘कामचलाउ’ बनाएर सागको महिला फुटबल सोही रङ्गशालामा खेलाइएको थियो।

सागपछि सोही आवमा काम सम्पन्न गर्ने गरी तेस्रो पटक म्याद थप भए पनि पूरा नभएपछि चालु आवको मङ्सिरसम्मका लागि चौथो पटक आयोजनाको म्याद थप गरिएको हो । थप अवधिमा समेत रङ्गशाला तयार नहुने निश्चित देखिएको छ ।

इञ्जिनीयर ताम्राकारले भिआइपी प्यारापिटको छाना छाउने, क्लडिङ (ग्राण्ड स्टाण्ड छोप्ने) र प्रि इञ्जिनीयरिङ भवन फिनिसिङ, पार्टिसन र सजावटको काम बाँकी रहेको बताए। यससँगै सम्झौतामा उल्लेख भएबमोजिम सडकको निर्माण कार्य पनि केही बाँकी छ।

उनले भने, “प्यारापिट, मैदान, ट्राकसहित हालसम्म रङ्गशालाको ८५ प्रतिशत काम सकिएको छ । छाना र भवनका सामान आयो भने अबको दुई ÷तीन महिनामा सबै काम सकिन्छ । पूरै सामान आइनसक्दासम्म भन्न सकिने अवस्था छैन ।”

राष्ट्रिय खेलकूद परिषद् (राखेप) र एमए कन्स्ट्रक्सन तथा ग्रेट स्र्पोट्स इन्फ्रा (जेभी) बीच रु एक अर्ब २८ करोड लागतमा अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला निर्माण गर्ने सम्झौता भएको थियो।

सम्झौताबमोजिम हालसम्म साधारण, विशिष्ट तथा अतिविशिष्ट गरी १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट तयारी अवस्थामा छ। मैदान तथा कन्ट्राकको काम पनि सकिएको छ।

More News last news
Loading...