प्रस्तावित राजदूत अनुमोदित, उच्च तहको भ्रमण गराउने प्रतिबद्धता

काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।

प्रस्तावित राजदूतको योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि समितिको बिहीबारको बैठकले उनीहरुको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

Advertisement

सरकारले अमेरिकामा पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडा, बेलायतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकामा डाक्टर निर्मलकुमार विश्वकर्मालाई नेपाली राजदूतमा नाम प्रस्ताव गरी अनुमोदनका लागि समितिमा पठाएको थियो।

बैठकमा प्रस्तावित राजदूतत्रयले तत्तत् देशमा गएर आर्थिक कुटनीतिलाई प्रवर्द्धन गर्दै देशमा लगानी ल्याउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाए।

राजदूतको जिम्मेवारीमा रहने देशमा विभिन्न पेसा, व्यवसाय गरी बसेका नेपालीको हितमा काम गर्ने बताउँदै उनीहरूले ती देशसँगको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने क्रममा दुवै देशबाट उच्च तहको भ्रमण गराउन भरमग्दुर प्रयास गर्ने अठोट पनि व्यक्त गरेका थिए।

प्रस्तावित राजदूत डा. खतिवडाविरुद्ध तीन र रेग्मीविरुद्ध एउटा उजुरी परे पनि उजुरीकर्ता भने समितिसमक्ष उपस्थित भएनन्।

More News last news
Loading...