जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईद्वारा संसद् अधिवेशन बोलाउन माग

काठमाडौं । विपक्षी दल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद् अधिवेशन बोलाउन माग गरेका छन्।

सत्तारुढ नेकपाको आन्तरिक किचलो उसैले छिनोफानो गरे पनि हालका लागि गम्भीर देखिएका विषयमा संसद अधिवेशनमा बोलाएर छलफल गर्नुपर्ने बताएका हुन्।

Advertisement

कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्ध र अन्य विषयमा संसदमा छलफल हुनुपर्ने आवश्यकता उनले औँल्याए। ट्वीटरमा उनले लेखेका छन्, ‘सरकारका दुष्कर्म/कुकर्म आमजनता र प्रतिपक्षी दलको पनि गम्भीर चासोको विषय हुनाले यी मुद्दामा संसद् अधिवेशन बोलाएर छलफल गर्ने कि: १. कोरोना २. अर्थतन्त्र ३. संघीयता ४. भ्रष्टाचार ५. विदेश सम्बन्ध ६ अन्य!’

संसदको विशेष अधिवेशन बोलाउन प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पनि अनौपचारिक निर्णय छ। २४ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा संसदको विशेष अधिवेशन बोलाउने सम्बन्धमा एजेण्डा बनाएको छ।

संसदको विशेष अधिवेशन बोलाउन काँग्रेससँग एकतिहाइ नभएका बेला जसपा संघीय परिषद अध्यक्ष भट्टराईको प्रस्ताव आएको छ । यसअघि असार २४ गते जसपाका शीर्ष नेताहरू संसद्को विशेष अधिवेशन बोलाउनु पर्ने प्रस्ताव लिएर काँग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेका थिए। तर देउवाले पार्टीभित्र छलफल गरेपछि संसद अधिवेशन बोलाउने जवाफ दिएको थिए।

संविधानको धारा ९३ (३) मा संसदको एक चौथाई सदस्यले लिखित अनुरोध गरेमा राष्ट्रपतिले अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्न सक्ने उल्लेख छ।

प्रधानमन्त्री केपी ओली आफ्नै पार्टीमा अल्पमतमा परेपछि असार १८ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अचानक संसद अधिवेशन अन्त्य भएको जानकारी गराएकी थिइन्। यतिबेला पनि नेकपाको विवाद उत्कर्षमा छ। सत्ता पक्षमा अहिले संसद अधिवेशन बोलाउने कुनै गुन्जास छैन।

More News last news
Loading...