भारतीय सेनाध्यक्ष नरवणे भोलि नेपाल आउँदै

काठमाडौँ । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे बुधबार (भोलि) नेपाल आउँदै छन् ।

नेपाली सेनाले दिने मानार्थ महारथीको उपाधि ग्रहण गर्न नरवणे भोलि नेपाल आउन लागेका हुन् ।

Advertisement

नरवणेले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च तहको भेटवार्ता गर्ने भएकाले यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ। भोलि नेपाल आउने भारतीय सेनाध्यक्षले बिहीबार उच्च तहमा भेटवार्ता गर्नेछन् ।

भारतले मिचेको नेपाली भूमि समेटेर नेपालले नक्सा सार्वजनिक गरेपछि चिसिएको दुई देशबीचको सम्बन्ध फेरि सुमधुर बनाउने वातावरणको सुरुवातको लागि नरवणेको नेपाल भ्रमण उपयुक्त हुन सक्ने परराष्ट्रविद्हरुले बताएका छन्।

दुई देशबीच उच्च तहमा संवाद नभएको अवस्थामा भारतीय सेनाध्यक्षको भ्रमणले संवादहीनताको सिलसिला तोड्न सक्ने विज्ञहरुको भनाइ छ।

यसैबीच नेपाल भ्रमणको पूर्वसन्ध्यामा भारतीय सेनाध्यक्षले आफ्नो भ्रमणले दुई देशको सैन्य सम्बन्ध थप बलियो हुने बताएका छन् ।

आफ्नो भ्रमणले दुई देशबीच रहेको सैन्य सम्बन्धलाई बलियो बनाउन लामो बाटो तय गर्ने सेनाध्यक्ष नरवणेले भिडियोमा भनेका छन् ।

नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलनअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७५ सालमै भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाईसकेका छन् ।

More News last news
Loading...