परासी । एक पिताले पुत्रको चौरासी पूजा गर्ने सौभाग्य पाएका छन्।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गराएका हुन्। बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ। सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए।
बाबुले छोरोको चौरासी गरेको कहिल्यै नदेखिएको भन्दै स्थानीयवासी अचम्मित भई पिता ज्ञवालीसँग आशीर्वाद लिइरहेका थिए। चौरासी पूजामा बाबुछोराकै आशीर्वाद लिन पाउनु नौलो भएको स्थानीयवासी राजकुमार श्रेष्ठले बताए।
पिता ज्ञवाली अहिले पनि स्वस्थ्य छन्। खेतीपातीमै जीवन बिताएका बुबालाई अहिलेसम्म कुनै औषधि खुवाउनु नपरेको उनका साहिँला छोरा हरिप्रसादले बताए।
केशवराजका चार छोरामा ८४ वर्षीय दधिरामसहित ८० वर्षीय ऋषिराम, ७७ वर्षीय हरिप्रसाद र ६३ वर्षीय डा बाबुराम हुन्।
छोराको चौरासी गर्न पाउँदा भाग्यमानी ठानेको बताउँदै केशवराजले आशीर्वाद लिन आउने सबैलाई स्वस्थ्य, सुखी र खान पुगोस् भनी आशीर्वाद दिएका थिए। आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताए।
विसं १९७० साउन १६ गते गुल्मीको बलेटक्सारमा जन्मिएका ज्ञवालीका चार छोरा अहिले पनि छन्। उनको अहिले पाँचौँ पुस्ता (खनाति) चलिरहेको छ। उनका खनाति शिवम् दुई वर्ष पूरा भएका छन् । जो २०७६ साउनमा जन्मेका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
