ट्राफिक प्रहरी महाशाखाबाट महिना दिनमा २ हजार ५ सय बढीले लिए अनलाइन सेवा

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट एक महिनामा २ हजार ५ सयभन्दा धेरैले अनलाइन सेवा लिएका छन्।

महाशाखाले अघिल्लो महिनाबाट अनलाइन सेवा सञ्चालन गरेको हो। घरबाटै सेवा लिन सेवाग्राही अभ्यस्त हुन थालेका र एक महिनामा दुई हजार ५ सयभन्दा धेरै सेवा प्राप्त गरिसकेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

Advertisement

गाडी र त्यसका कागजातको सिफारिसका लागि महाशाखा धाउनुपर्ने बाध्यता हटाउँदै सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यले महाशाखाले गएको असोज ५ गतेदेखि घरबाटै अनलाइन फाराम भरेर सेवा लिन पाउने व्यवस्था मिलाएको थियो।

प्रमुख ढकालका अनुसार हराएको लाइसेन्स, बिलबुक र अनुमतिको लागि धेरै दिन लगाएर सेवाग्राहीले ट्राफिक प्रहरी कार्यालयबाट सेवा लिने गरेका थिए।

दैनिक झण्डै दुई सय सेवाग्राहीले महाशाखामा हराएको सिफारिसको लागि आवेदन दिने गरेकोमा अहिलेसम्म अनलाइनमार्फत एक हजार ३ सय ८४ जनाले लाइसेन्स, एक हजार ६९ जनाले बिलबुक र ४७ जनाले परमिट हराएको भनेर अनलाइनमार्फत निवेदन दर्ता गराएका छन्।

त्यसमध्ये एक हजार ७ सय १० जनालाई अनलाइनबाटै सिफारिस दिइएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिथिए।

उनका अनुसार वाग्मती प्रदेशबाहेक अन्य प्रदेशमा दर्ता भएका तथा पूर्ण विवरण नभरेको, दोहोरो निवेदन दिएका ७ सय ९० निवेदन फिर्ता गरिएको छ।

महाशाखाले असोज १८ बाट हराएका गाडीको निवेदन र सिफारिस पनि अनलाइनबाटै दिने व्यवस्था मिलाएको छ।

काठमाण्डौ उपत्यकामा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्य सेवालाई समेत प्रविधिमैत्री बनाउन थालिएको छ।

More News last news
Loading...