काठमाडौं । प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषद्ले सोमबारबाट अर्को संवैधानिक निकाय राष्ट्रिय मानव अधिकार आयोगलाई पदाधिकारी विहीन बनाएको छ।
आयोगमा कार्यरत पाँचै जनाको सोमबारबाट संवैधानिक व्यवस्थाबमोजिम कार्यकाल सकिएकाले आयोगमा पदाधिकारी शून्य भएको हो।
नेपालको संविधानको धारा २४८ को उपधारा (१) मा आयोगमा अध्यक्षसहित पाँच जना पदाधिकारी रहने व्यवस्था छ।
उपधारा (२) मा राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा आयोगका अध्यक्ष र सदस्यको नियुक्त गर्ने प्रावधान छ। उपधारा (३) मा उनीहरुको कार्यकाल ६ वर्षको हुने स्पष्ट गरिएको छ।
सोमबारबाट अवकाश पाएका अध्यक्ष अनुपराज शर्मा र सदस्यहरु प्रकाश वस्ती, सुदीप पाठक, मोहना अन्सारी र गोविन्द शर्मा पौडलले २०७१ सालको कात्तिक ३ गते कार्यभार सम्हालेका थिए।
कोभिड—१९ को माहामारी, शिक्षा, स्वास्थ्यमा देखिएको ह्रास, बलात्कार तथा अन्य अपराधका घटना उल्लेख्यरुपमा वृद्धि भएको अवस्थामा आयोगलाई पदाधिकारी विहीन बनाउन नहुने सम्बन्धित विज्ञहरुले उल्लेख गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
