दशैँमा प्रतिकिलो ५६० मा खसी बोका बिक्री गरिँदै

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो ५६० रुपैयाँमा खसी तथा बोका बिक्री वितरण गर्ने भएको छ।

दाङ र मकवानपुरको मजवानपुरबाट यस वर्षको बडादशैँका लागि पहिलो चोटि खसी तथा बोका काठमाडौँ आइपुगेपछि कम्पनीले मूल्य निर्धारण गरेको हो।

Advertisement

निर्धारित मूल्यअनुसार प्रतिकिलो खसी बोकामा दश रुपैयाँ छुट दिइने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन। उनका अनुसार काठमाडौँ आइपुगेका चौपायाको सोमबार बिहान ८ बजेपछि बिक्री वितरण सुरु हुनेछ। प्रतिकिलो पाँच सय ५० का दरमा थापाथलीको प्रादेशिक कार्यालय परिसरबाट बिक्री वितरण हुने कम्पनीले जनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयानुसार सरकारी स्वामित्वमा सञ्चालित तीन संस्थानले चाडपर्वलाई लक्ष्य गर्दै सञ्चालन गर्ने सुपथ मूल्यका पसलमा दिइएको छुट स्वरुप खसी बोकामा प्रतिकिलो दश रुपैयाँ छुट दिइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुुसार पहिलो चरणमा दाङबाट दुई सय र मकवानपुरबाट २०५ गरी ४०५ खसी बोका काठमाडौँ आइपुगेको छ। यस वर्ष कम्पनीले दुई जिल्लाबाट एक हजार खसी बोका ल्याउने तयारी गरेको छ। मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको कम्पनीले गएको वर्षको तुलनामा बढी मूल्य भएपछि अन्तिममा नल्याउने निर्णय भएको जनाएको छ।

More News last news
Loading...