काठमाडौं । वाफल काठमाडौंका समाजसेवी ताराबहादुर कुँवरले शनिबार २४ औं चरणको राहत वितरण गरेका छन् । उनले अहिलेसम्म १५ सय जनालाई राहत बाँडेका छन् ।
बडादशैं, शुभ दिपावली, नेपाल सम्वत, छठसहित अन्य पर्वको शुभकामना दिँदै राहत पनि वितरण गरिएको कुँवरले जनाए । उनले अझै पनि मानिसलाई दैनिकी चलाउन समस्या भइरहेकाले केही सहयोग गरिएको स्पष्ट पारेका छन् ।
उनले अप्ठ्यारो परेका सबैलाई आउन समेत सार्वजनिक रुपमै सामाजिक सञ्जालमार्फत आव्हान गरेका छन् । उनले कोरोना भाइरसको त्रासका कारण सरकारले लकडाउन गरेदेखि नै हरेक साता राहत वितरण गर्दै आएका छन् । उनले अघिल्लो शनिबार पनि नौमती बाजा बजाउनेसहित ५० जनालाई राहतस्वरुप चामल, दाल, नुन, तेललगायतका सामग्री वितरण गरेका थिए ।
शनिबारको कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका मकवानपुरका नेता जयराम लामिछाने प्रमुख अतिथिका रुपमा थिए । कुँवरलेले राहत वितरणसँगै रक्तदान अभियान पनि चलाएका छन् । पाँच पटकमा गरी १ सय ६३ जनाले रक्तदान गरेका छन् । उनी नेपाल हेभी इक्विपमेन्ट व्यवसायीका अध्यक्ष र हजुरलाई नमस्ते ट्रेड लिंकका पनि सञ्चालक हुन् ।
कुँवरले अप्ठेरो अवस्थामा परेकालाई अझै पनि सहयोग गर्ने जनाएका छन् । ‘कोरोनाको त्रासले सबै पेशा व्यवसाय संकटमा परेको छ, मेरो पनि व्यवसाय बन्दजस्तै छ तर पनि सबैले दुई छाक खान पाउनुपर्छ भनेर यस्तो अभियान चलाएको हुँ’ उनले भने ‘सुरुका दिनमा आफैं खर्च गरे तर पछिल्ला दिनमा भने केही व्यक्ति र संघसंस्थाले पनि सहयोग गरेका छन्, सहयोगी सबैलाई र अभियानमा जोडिनेलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
