स्याङ्जामा नेकपा छाडेर काँग्रेस प्रवेश गर्नेको ओईरो

स्याङ्जा । स्याङ्जामा पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छाडेर नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको ओइरो नै लाग्न थालेको छ ।

काँग्रेसका विभिन्न वडा नगरपालिका, गाउँपालिका तथा वडा स्तरमा हुने दिनहुँ जसो हुने कार्यक्रममा ठूलो संख्यामा नेकपा छाडेर काँग्रेसमा प्रवेश गर्नेहरुको जमात ठूलो देखिन थालेको हो ।

Advertisement

हिजो मात्र स्याङ्जाको चिलाउनेबासमा सम्पन्न कार्यक्रममा करिब ४० जनाले नेकपा छाडेर काँग्रेसमा प्रवेश गरेका थिए भने आज पुतलीबजार नगरपालिका वडा नं ९ काल्खुमा नेकपाको नेता तथा शशक्त भातृ संगठन युवा संघका नेता भोजबहादुर राना, सोमबहादुर राना, कविता राना, लालबहादुर राना सहित करिब ३५ जना नेकपामा आवद्ध नेता तथा कार्यक्रता काँग्रेस प्रबेश गरेका छन्।

उनीहरुलाई संविधान सभा सदस्य राजु थापा, नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं १ का सभापति तुलसीराम रेग्मी, नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष भरतप्रसाद लम्साल, नेपाली काँग्रेस स्याङ्जाका नेता श्रीराम उपाध्याय, महिला नेतृ तारा मल्ल, नेपाल विद्यार्थी संघ स्याङ्जाका सभापति अजित क्षेत्री लगायतले स्वागत गरे।

कार्यक्रममा बोल्दै संविधान सभा सदस्य थापाले वर्तमान कम्युनिष्ट सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसक्दा नेकपाका नेता कार्यकर्ता काँग्रेसमा आउनुभएको तर्क गरे। वर्तमान सरकार काम भन्दा गफ मात्र गरेको भन्दै सरकार भ्रष्टाचारमा लिप्त रहेको समेत आरोप समेत लगाए।

हितेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नारायण पोख्रेलले गरेका थिए भने स्वागत र धन्यवाद ज्ञापन दुर्गा गुरुङ र बखतबहादर गिरीले गरेका थिए। सरकार गैरजिम्मेवार बनेको भन्दै पछिल्लो समय स्याङ्जामा काँग्रेस प्रबेश गर्ने लहर नै चलेको छ।

पछिल्ला केहि कार्यक्रमहरुमा नेपाली काँग्रेस स्याङ्जाका युवा नेता राजु थापाको पहलमा आधिखोला गाउँपालिका, हरिनास गाउँपालिका, फेदीखोला गाउँपालिका लगायतका स्थानबाट सयौंको संख्यामा पार्टी प्रवेश गरिसकेका छन्।

More News last news
Loading...