सिन्धुपाल्चोक । बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल र सिन्धुपाल्चोकका नेकपाका नेता तथा कार्यकर्ताले सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पुगेर राहत वितरण गरेका छन्।
साउन ३० गते गएको पहिरोमा केही व्यक्तिको निधन भएको छ भने केही अझै बेपत्ता छन्। पहिरो पीडितहरु अहिले अस्थायी रुपमा शेलाङको बासखर्कमा बसिरहेका छन्।
शनिबार सोही ठाउँ पुगी पीडित प्रत्येक घरधुरीलाई २५ केजी चामल, ५ केजी दाल, ४ लिटर तेल, २ पाकेट नुन, २ केजी चिनी र १ पाकेट चियापति वितरण गरिएको जनाइएको छ। राहत सामाग्रीहरु मन्त्री दुलालले हस्तान्तरण गरेका हुन्।
राहत वितरणमा फेमन फेमिली, होप अलाईन्स अस्ट्रेलियाका साथै संस्था सम्बद्ध स्वास्थ्यसेवी तथा समाजसेवी वाङ्चुक राप्तेन लामा, समाजसेवी पेमा नुर्बु लामा र युवा व्यवसायी, समाजसेवी एवम् नेकपाका युवा नेता भूषण महर्जनले समन्वय गरेका थिए।
राहत वितरणमा गाउँपालिकाका नेकपाका नेता रेशम स्याङ्बो, नेता प्रताप लामा, दामोदर पाण्डे, श्यामकृष्ण डंगोल, माधव घिमिरे (अटल) र राजु शर्मा समेत सहभागी थिए।
राहत वितरणसँगै मन्त्री दुलालले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका थिए।
उनले सरकारले पीडितलाई लागि थप राहतका कार्यक्रम पनि सञ्चालन गरिने समेत प्रतिबद्धता जनाए। उनी सिन्धुपाल्चोकबाटै प्रदेशसभामा निर्वाचित भएका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
