काठमाडौँ । हाल बन्द अवस्थामा रहेको काठमाडौँको बालाजुमा रहेको जनमैत्री अस्पताल सञ्चालनमा आउने भएको छ।
व्यवस्थापनको कमजोरीका कारण विगत केही वर्षयता बन्द अवस्थामा रहेको अस्पताल पुनः सञ्चालनमा आउने भएको छ। जसअनुसार सरकारले तत्काल कोभिड अस्पतालको रुपमा विकास गर्ने भएको छ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनमैत्रीसहित तीन अस्पताललाई कोभिड १९ अस्पतालका रुपमा सूचीकृत गरेको बताए।
जसमा जनमैत्रीसहित काठमाडौँकै कान्तिपुर अस्पताल र वीरगञ्जको नेशनल मेडिकल कलेज टिचिङ अस्पतार रहेका छन्।

हाल बन्द अवस्थामा रहेको जनमैत्री अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गर्न काठमाडौं महानगरपालिका र महानगरपालिकाको वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले निरन्तर पहल गर्दै आएका थिए।
गत साउन २९ मा महानगरपालिकाको तर्फबाट वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले अस्पताल व्यवस्थापनलाई पत्राचार गर्दै अस्पताल सञ्चालन गर्न आग्रह गरेका थिए।
अस्पताल सञ्चालन गर्न आग्रह गर्दै प्रेषित पत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायतलाई पनि बोधार्थ गरिएको थियो ।
महानगरकै पहल र चासोमा सरकारले कोभिड अस्पतालका रुपमा सूचीकृत गरेको हो। अहिले कोभिड अस्पताल हुने र निकट भविष्यमा पूर्णरुपमा अस्पताल सञ्चालनमा आउने रिजालले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
