काठमाडौँ । थाई राजसंस्थाको आलोचना गरेकाले कानुनी कारबाही गर्ने चेतावनी दिएपछि फेसबुकले एउटा ग्रूपलाई थाईल्यान्डमा हेर्न नमिल्ने बनाएको छ।
ब्याङ्ककले त्यसो गर्न दबाव दिएपछि आफूले त्यसविरुद्ध कानुनी उपचार खोज्ने फेसबुकले जनाएको छ। थाईल्यान्डमा अहिले सरकारविरुद्ध प्रदर्शनहरू भइरहेका छन्।
तिनमा राजसंस्थामा सुधार हुनुपर्ने अभूतपूर्व माग गरिएको छ। थाईल्यान्डमा राजसंस्थाको आलोचना गर्न पाइँदैन। विदेशबाट रोयलिस्ट मार्किटप्लेस नामक ग्रूप खोल्न मिल्छ। तर सोमवार साँझदेखि थाईल्यान्डमा त्यसलाई बन्द गरिएको छ।
उक्त ग्रूपमा १० लाखभन्दा बढी सदस्य छन्। उक्त ग्रूप सञ्चालन गर्ने पाफिन चाचाभाल्पोन्पनका अनुसार त्यसमा राजसंस्थाबारे गम्भीर छलफल गर्न पाइन्छ र र थाई नागरिकहरूलाई आफ्नो धारणा स्वतन्त्रतापूर्वक राख्न दिइन्छ। फेसबुकले आफूले कानुनी उपचार खोज्ने तयारी गरिरहेको बताएको छ।
मानवाधिकारवादी समूहहरूले थाईल्यान्डले फेसबुकलाई दिएको दबावको चर्को आलोचना गरेका छन्। थाईल्यान्डमा राजसंस्था वा राजपरिवारका सदस्यको आलोचना वा अपमान गरे १५ वर्षसम्मको जेल सजाय हुन सक्छ। -बीबीसी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
