काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी गाउँका पहिरो प्रभावितलाई नेपाल रेडक्रस सोसाइटीले खाध्यान्न वितरण गरेको छ। हिजो साउन ३० गते बिहान सुख्खा पहिरो जाँदा ३७ घर पूर्ण क्षति भएका र करीब १७९ घर प्रभावित भएका छन्।
उक्त पहिरोमा परी अहिलेसम्म १६ जनाको शव फेला परेको र २७ जना अझै बेपत्ता रहेको जिल्लाबाट रेडक्रस अधिकृत राजकुमार लम्सालले जनाएका छन्।
रेडक्रसको सहयोग जारी
घटनाको दोस्रो दिन आज १० दिनका लागि पुग्ने खाद्यान्न रेडक्रस शाखा सदस्य अमृत कुमार खड्काको सहयोगमा जिल्ला शाखाद्धारा नेपाल आर्मीको हेलिकप्टर मार्फत घट्नास्थलमा पठाएको छ। रेडक्रसले पहिरो पीडितलाई तत्काल चाहिने सामाग्रीहरु दाल, चामल, तेल, नुन, गरम मसला लगायतका सामाग्री पठाएको हो।

साथै, रेडक्रसले अस्थाई शौचालयका लागी २ वटा स्कुटिङ प्लेट, खानेपानी कार्यालयको सहजिकरणमा खानेपानीका लागी १४०० मिटर पाइप पनि पठाइएको छ।
स्थानीय उपशाखाबाट घटनास्थलमा २ जनाले निरन्तर सहयोग गरिरहेको र ५ जना थप स्वयमसेवक द्रुत लेखाजोखाको लागि परिचालन तयारी रेडक्रसले जनाएको छ।
पहिरो प्रभावित स्थानमा भएका घाइतेहरुको उद्धारका लागि आवश्यक समन्वय र पहलबाट रेडक्रसले हिजो तत्कालै कार्यसुरु गरेको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले नयाँ पुस्ता डटकमलाई बताए।
रेडक्रसले जिल्ला विपद् व्यवस्थापन समितिसँगको समन्वयमा प्रभावित परिवार मध्ये तत्काल ३० परिवारका लागी पुग्ने गरी आवश्यक पर्ने गैह्र खाद्य सामाग्रीको पूर्ण सेट पठाएको थियो। पहिरोबाट पूर्ण क्षती भएका ३७ परिवार हाल मानेडाँडाको चौरमा अस्थायी क्याप्पमा बसेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
