काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) की नेतृ सुधा कट्टेलले श्रीमती हत्याको मुद्यामा जेल परेका सशस्त्र प्रहरी वल नेपालका पूर्व डिआजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले कैद सजाय छुट दिएकोमा आपत्ति जनाएकी छिन्।
उनले सर्वोच्चको निर्णय अस्वभाविक भएकाले यसमा धेरै शंका गर्ने ठाउँ भएको टिप्पणी गरेकी छिन्।
श्रीमती गिता ढकालको हत्याको आरोपमा २० वर्ष जेल परेका उनी ८ वर्ष ६ महिना कैद भुक्तान गरेर केही दिनअघि रिहा भएका छन्। नेतृ कट्टेलले कोइराला छुटेपछि समाजमा र परिवारमा थप डरको वातावरण भएको बताएकी छिन् ।
‘समाजमा गलत काम गर्ने हत्यारा, अपराधी, व्यभिचारीलाई यसरी छोड्दै जाने हो भने न्याया मरेको हुन्छ यो दुर्भाग्य हो’ उनले भनिन् ‘ २१ औं शताव्दी भनिए पनि अझै हामी १७ औं शताव्दीको जस्तो व्यवहार गरिरहेका छौं, योभन्दा ठूलो गल्ती अरु हुन सक्दैन।’ राजनेताजस्तो गरी रञ्जन कोइराला जेलबाट निस्कनु दुर्भाग्य भएको उनको बुझाई छ।
कट्टेलले पुरुषप्रधान समाज भन्दै जहाँ पनि पुरुषकै कुरा लागु हुनुले धेरै ठाउँमा आशंका जन्माएको समेत टिप्पणी गरेकी छिन् । उनले अहिले साना बालिका, बृद्धा, बेवारिसे महिलामाथि हुने गरेका बलात्कार र यौन शोषणमा संलग्नलाई विभिन्न ढंगबाट बचाउने र अपराध लुकाउने षड्यन्त्र भएको भन्दै कानुनी शासन स्थापना भएको हेर्न मानिसले कहिलेसम्म प्रतिक्षा गर्नुपर्ने हो भनी प्रश्न गरेकी छिन्।
२ वर्षअघि कञ्चनपुरमा वलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको अपराधीलाई बचाउन र यो घटना दबाउन प्रहरी प्रशासन नै लागिपरेको दावी गरेकी छिन् । ‘सरकार नै अपराधी जोगाउन लाग्छ, प्रत्येक घटनालाई ढाकछोप गर्न अर्को अभिव्यक्ति दिएर पन्छिने गरेको छ’ उनले भनिन् ‘ न्यायाको तराजुले सबैलाई समान देख्न नसक्दा यो अवस्था आयो, न्यायमा कसैलाई पनि पार्टी, वर्ग र जातजाति छुट्याइनु दुर्भाग्य हो।’
महिलाका पक्षमा अभियान चलाउने संघसंस्थाले २५ प्रतिशतसम्म पनि काम गर्न नसकेको उनको आरोप छ। उनले पार्टीका महिला संघ संगठन पनि यस विषयमा सक्रिय भएर नबोलेको स्पष्ट पारेकी छिन्। उनले महिला राष्ट्रपति भएको देशमा महिलामाथि नै यस्तो अन्याय हुनु विश्वका लागि नै लाजमर्दो विषय भएको भन्दै असन्तुष्टि जनाएकी छिन्।
‘केही महिलालाई ठाउँ दिएको छ, यो राम्रो कदम हो तर त्यतिले मात्र महिलाका हक अधिकार सुरक्षित हुन सक्दैन’ उनले भनिन् ‘ महिला नै सभामुख र प्रधान न्यायाधीश भइसक्नुभएको छ तर पनि महिलामा सधैं विभेद गरिन्छ र विश्वास पनि कम गरिनु सबैको लागि चुनौतीको विषय हो।’
उनले रञ्जन कोइरालाको घटना एउटा प्रतिनिधिमूलक मात्र भएको र यसरी नै धेरै अपराधी उम्किरहेकाले बेलैमा सजग र सचेत रहन पनि आग्रह गरेकी छिन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
