कुमार हितंगा/स्याङ्जा । नेपाल विद्यार्थी संघ स्याङ्जाले वर्तमान सरकारले सिंगो शिक्षा क्षेत्र नै निजी क्षेत्रलाई हस्तान्तरण गरेको भन्दै आपत्ती प्रकट गरेको छ ।
सोमबार संघले एक बिज्ञप्ती जारी गर्दै शिक्षा क्षेत्रको विषयमा नेपाल सरकारको बजेट मार्फत निजी बिद्यालयले सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार र गुणस्तर सुधारका लागि सहयोग गर्ने नाममा वर्तमान सरकारले सिंगो शिक्षा क्षेत्र नै निजी क्षेत्रलाई हस्तान्तरण गर्न लागेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
यस्तै संघले सामुदायिक विद्यालयहरुलाई क्वारेन्टिन बनाई शैक्षिक माफियाहरुको हित र विद्यार्थीको स्वास्थ्यमा समेत खेलवाड गर्ने र हचुवाको भरमा सुरक्षात्मक बिधी नअपनाई यहि असार १ गतेदेखि विद्यालय भर्ना खोल्ने निर्णय गरेको प्रति नेपाल विद्यार्थी संघ स्याङ्जाको गम्भीर आपत्ती जनाएको छ ।
जिल्ला सभापति अजित क्षेत्रीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नेपालको संविधान–२०७२, ले शिक्षालाई निःशुल्क, अनिवार्य नागरिकको अधिकार र राज्यको दायित्व ठानेको छ । सत्तारुढ दलको चुनावी घोषणापत्रमा समेत शिक्षालाई राज्यको दायित्व मान्दै केहि बर्ष भित्रै निजी विद्यालय बन्द गर्ने चर्का नारा उल्लेख गरिएको थियो । तर व्यवहारमा राज्यले प्रत्याभूत गर्नुपर्ने माध्यामिक शिक्षा बजेटको शिर्षक नं–१६६ मा निजी विद्यालयले सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तर बृद्धि गराईदिने विषय उल्लेख गर्दै शिक्षामा निजी क्षेत्रलाई हावी गराउने तयारी गरेको प्रति घोर आपत्तिका साथ उक्त व्यवस्थाको खारेजीको माग गर्दछौं ।’
यसैगरी, संघले कोरोना भाईरसको कारण स्थगित एसईई परिक्षाको सम्बन्धमा शिक्षाविद् र सरोकारवाला सँगको परामर्शमा तत्काल उपयुक्त निर्णय लिई आफ्नो भविष्यप्रति चिन्तित र अन्योलग्रस्त अवस्थामा रहेका विद्यार्थीहरुलाई उपयुक्त निकास दिन नेपाल सरकारसँग माग पनि गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
