कोरोना : डेनमार्कले प्राथमिक विद्यालय खोल्ने, दक्षिण कोरियामा चुनाव

बीबीसी । प्रतिबन्धहरू खुकुलो गर्ने प्रयासको पहिलो पाइलाका रूपमा युरोपेली राष्ट्र डेनमार्कले बुधवारदेखि शिशु स्याहार केन्द्र र प्राथमिक विद्यालयहरू खोल्न सुरु गर्ने भएको छ।

नयाँ नियमानुसार विद्यार्थीहरूलाई पहिलेभन्दा टाढा राखिने, सरसफाइमा पनि विशेष ध्यान दिइने र सम्भव भएको अवस्थामा खुला स्थलमा कक्षा सञ्चालन गरिनेछन्।

Advertisement

लकडाउनका अन्य प्रतिबन्धहरू भने कायम रहने बताइएको छ। डेनमार्कको सरकारले अस्पतालहरूमा बिरामीहरूको सङ्ख्या कम हुन थालेकोले अन्य प्रतिबन्धहरू पनि चाँडै हटाउन सकिने बताएको छ।

डेनमार्कमा ६,७०० जनाभन्दा बढीको कोरोनाभाइरस सङ्क्रमण भएको र ३०० जनाको हराहारीमा मृत्यु भएको तथ्याङ्क छ।यसैबीच जर्मनीमा पनि सरकारले बुधवार केही प्रतिबन्धहरू हटाउने सम्बन्धमा छलफल गर्ने बताइएको छ।

दक्षिण कोरियामा मास्क र पन्जा लगाएर मतदान
दक्षिण कोरियामा बुधवार संसद्‌को न्याश्नल एसेम्ब्लीको निर्वाचन भइरहेको छ। निर्वाचनमा मतदाताहरू मास्क लगाएर गएको देखिएको छ। उनीहरू कम्तीमा एक मिटरको दूरीमा उभिएको बताइएको छ। मतदानअघि उनीहरूको ज्वरो नापिएको थियो।

उनीहरूलाई पहिला पन्जा र पछि मतपत्र दिइएको समाचारसंस्थाहरूले जनाएका छन्। यो निर्वाचनका लागि चार करोड ४० लाख नागरिक मतदाता छन्।

दक्षिण कोरियाले इतिहासमा कहिल्यै निर्वाचन नरोकेको बताइएको छ। सन् १९५२ मा कोरियाली युद्ध हुँदा पनि त्यहाँ राप्ट्रपतिको निर्वाचन भएको थियो।

“यो हाम्रो मताधिकारको कुरा हो,” मतदान गर्न पर्खिरहेका एक व्यक्तिले बीबीसीलाई बताए। “मतदान भनेको हामीले गर्नै पर्ने एउटा कुरा हो,” अर्का एक मतदाताले भने।

More News last news
Loading...