रिजन नेपाल
पोखरा । चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पारस खड्का कप्तानीको चितवनले फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै उपाधि जितेको हो । पहिलो संस्करणमा फाइनल पुगेर उपाधिबाट वञ्चित बनेको चितवनले यसपालि उपाधिसहित २७ लाख रुपैयाँ जित्न सफल भयो । उपविजेता विराटनगर १० लाखमा सीमित भयो ।
चितवनका रोहन मुस्ताफा म्यान अफ दी सिरिज, करन केसी वेष्ट बलर हुँदा काठमाडौंका ज्ञानेन्द्र मल्ल वेष्ट ब्याट्म्यान घोषित भए । उनीहरु हरेकले टीभीएस मोटरसाइकल चढे । त्यस्तै, विराटनगरका लोकेस बम मस्ट भ्यालुएवल प्लेयर र धनगढीका अनिल खरेल मस्ट इमर्जिङ प्लेयर हुँदै क्रमशः १ लाख र ५० हजार पुरस्कार पाए ।
चितवनले रोहन मुस्ताफा र अनिल शाहको दोहोरो अर्धशतकीय इनिङ्स सहित निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै जितका लागि २०२ रनको योगफल तयार पारेको थियो । २०३ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको प्रदीपसिंह ऐरी कप्तानीको विराटनगर पूरै २० ओभरमा ७ विकेटको क्षतिमा १७० रनमा समेटिन पुगेको हो ।
फाइनल खेलमा विराटनगरका मोहम्मद जैद आलमले ५७ रनको योगदान दिए पनि हार्न टार्न सकेनन् । विराटनगरलाई सस्तैमा समेट्ने क्रममा चितवनका लागि करण केसीले ३६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै, सन्नी पटेलले २ र रोहन मुस्ताफाले १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ थालेको चितवनको जितमा अर्धशतक पूरा गरेका ओपनर मुस्ताफा र अनिलकुमार शाहले समान ५० रन बनाएका थिए । नटआउट करण केसीले २६ रन बनाउँदा ओपनर कप्तान पारस खड्काले २५, आरिफ शेखले १९, सन्नी पटेलले १६, बाबर ह्यातले ५ रनको योगदान दिँदै अन्तिम बलसम्म २०२ रनको योगफल तयार पारे ।
विराटनगरका पूनीत मेहरा र जैद आलमले समान २÷२ विकेट लिए । किशोर महतोले १ विकेट झारे ।
विजयीलाई गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, गण्डकी प्रदेश सांसदद्वय बिन्दुकुमार थापा, राजीव पहारी, भरतपुर महानगर प्रमुख रेणु दाहाल, विराटनगर महानगर प्रमुख भीम पराजुली लगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा ६ टिमले भाग लिएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
