बाङ्ग्लादेशले १३ औँ दक्षिण एशियाली खेलकुद सागको क्रिकेटमा नेपालालाई ४४ रनले हराएको छ। यो नतिजासँगै बाङ्ग्लादेश र श्रीलङ्काले स्वर्ण पदकका लागि फाइनल खेल्ने निश्चित भएको छ।
टस हारेर ब्याटिङ गरेको बाङ्ग्लादेशले कप्तान नजमुल हुसैन शान्तो र अफिफ हुसैनको अर्धशतकको मद्दतले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले धैर्यपूर्वक ब्याटिङ गर्दै ४३ रन बनाए पनि नेपाल २० ओभरमा ९ विकेट गुमाएर १११ रनमा समेटिएको छ।
सागमा बाङ्ग्लादेश र श्रीलङ्काका २३ वर्षभन्दा मुनिका खेलाडी सम्मिलित टोलीले भाग लिइरहेका छन्।
कमजोर ब्याटिङ
ओपनर पारस खड्का ९ रनमै आउट भएपछि नेपालको थप दुई विकेट लगालग खसेको थियो। उपकप्तान दीपेन्द्रसिंह ऐरीले १६ रन बनाउने क्रममा मल्लसँग ३२ रनको साझेदारी गरे।
मल्लले ४३ बलमा एक चौका र एक छक्काको सहायताले ४३ रन बनाए। उनी आउट हुने नवौँ खेलाडी थिए। अविनाश बोहराले नटआउट १३ रन बनाए। तर अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् र नेपाल सहजै पराजित भयो।
बाङ्ग्लादेशका सुमोन खान, तनविर इस्लाम, सौम्य सरकार र महेदी हसनले दुई-दुई विकेट लिए।
पारस खड्काको शानदार बलिङ
नेपालका पूर्व कप्तान पारस खड्काले सानदार बलिङ गर्दै पहिलो चार ओभर भित्र तीन विकेट लिएपछि बाङ्ग्लादेश दबाबमा आएको थियो।
शान्तोले नटआउट ७५ रन बनाए भने हुसैनले २८ बलमा ५२ रन बनाए। उपकप्तान दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरमा दुई विकेट लिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
