भारोत्तोलनमा नेपाललाई दोहोरो स्वर्ण, अधिकारी दम्पत्तिले जिते कास्य

रिजन नेपाल

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले दोहोरो स्वर्ण जित्न सफल भएको छ । पुरुष ८९ केजी तौल समूहमा नेपालका विकास थापाले शुक्रबार स्वर्ण जित्न सफल भएका हुन् । यसअघि बिहीबार सञ्जु चौधरीले महिलातर्फ ५९ केजीमा स्वर्ण जित्दै इतिहास रचेकी थिइन् ।

Advertisement

नेपाल प्रहरीका विकास थापाले स्न्याचमा १२३ र क्लीन एण्ड जर्कमा १४६ सहित कुल २६९ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गरे ।

छनोट चरणमा उनको नाममा स्न्याचमा १२२ र क्लीन एण्ड जर्कमा १४२ सहित २६४ केजीको रेकर्ड रहेको भारोत्तोलन प्रतियोगिताका प्रवक्ता रुकेश तण्डुकारले बताए । थापा १२ औं संस्करणका रजत विजेता पनि हुन् ।

८९ केजी तौल समूहमा बंगलादेशका खेलाडी मो सकायत हुसेनले रजत जिते । उनले स्न्याचमा १२३ र क्लीन एण्ड जर्कमा १४५ गरी कुल २६८ केजी तौल उठाउँदै रजतमा सीमित भएका हुन् । प्रतियोगितामा भाग लिएका पाकिस्तानी खेलाडी अबुर रहमान बिरामीले खेल्न सकेनन् ।

यस्तै, ८१ केजी तौल समूहमा पाकिस्तानका हैदर अलिले स्वर्ण पदक जित्न सफल भए । उनले स्न्याचमा १४२ केजी र क्लीन एण्ड जर्कमा १७६ केजी गरी ३१८ केजी भार बहन गरे । भारतका अजय सिंहले स्न्याचमा १४० केजी र क्लीन एण्ड जर्कमा १७६ केजी गरी ३१६ केजी भार बहन गरे । श्रीलंकन खेलाडी भिसिजि विदाङ्गेले कास्य पदक हात पारे । उनले स्न्याचमा १२८ केजी र क्लीन एण्ड जर्कमा १६० केजी गरी २८८ भार बहन गरे । जितपछि विकासले देशलाई स्वर्ण दिलाउन सफल भएकोमा खुसी लागेको प्रतिक्रिया दिए ।

साग इतिहासमै नेपालले भारोत्तलनबाट सर्वाधिक पदक जित्न सफल भएको छ । जारी संस्करणमा पनि नेपालको पदक संस्था २ स्वर्ण सहित ६ कास्य पुगिसकेको छ ।

पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा शुक्रबारकै खेलमा नेपालका तर्फबाट कमलबहादुर अधिकारी (६७ केजी), प्रकाश केसी (७३ केजी), राज्यलक्ष्मी थापा (७१ केजी) र देवी चौधरी (६४ केजी) ले कास्य जितेका छन् । बिहीबारको खेलबाट सञ्जु चौधरीले स्वर्ण सहित संगीता राई (४५केजी) र तुलाराम महतो (५५ केजी) ले कास्य जितेका थिए ।

चार दिनसम्म चल्ने भारोत्तोलन प्रतियोगितामा महिला पुरुषतर्फ १०/१० इभेन्ट्समा २० स्वर्णका लागि खेल हुनेछ । हालसम्म १२ वेट समूहमा खेल सम्पन्न भैसकेकोमा अब ८ वटा वेट समूहमा खेल हुन बाँकी छ।

अधिकारी दम्पत्तिलाई कास्य

१३ औं साग भारोत्तोलन प्रतियोगितामा नेपालका कमलबहादुर अधिकारी दम्पत्तिले कास्य पदक हात पारेका छन् । साग भारोत्तोलनमा अघिल्लो संस्करणसम्म एकमात्र स्वर्णविजेता कमलले जारी संस्करणअन्तर्गत शुक्रबार पुरुष ६७ केजी तौल समूहमा कास्य जितेकोमा उनकी धर्मपत्नी राज्यलक्ष्मी थापाले पनि कास्य पदक नै जित्न सफल भइन् ।

महिला ७१ केजी तौल समूहमा राज्यलक्ष्मीले कास्य पदक जितेपछि साग भारोत्तोलनमा सम्भवतः दम्पत्तिलाई कास्य पहिलो पटक हो । १० औं संस्करणका स्वर्णविजेता कमल १३औं मा पुरुषतर्फ ६७ केजी तौल समूहमा कास्यमा सीमित भएका छन् ।

प्रहरीकी राज्यलक्ष्मीले स्न्याचमा ६७ र क्लीन एण्ड जर्कमा ८३ सहित कुल १५० किलो भार उठाउँदै कास्य जितेकी हुन् । यस्तै सो स्पर्धामा भारतले स्वर्ण र बंगलादेशले रजत पदक जितेको छ ।

भारतकी मनप्रित कौरले स्न्याचमा ८५ र क्लीन एण्ड जर्कमा १०७ गरी कुल १९२ किलो भार बहन गरी स्वर्ण जितेकी हुन् । बंगलादेशकी रोकेया सुल्तान साठीले स्न्याचमा ७० र क्लीन एण्ड जर्क विधामा ८५ गरी कुल १५५ किलो बहन गर्दै रजतमा सीमित बनिन् ।

उता, महिला ६४ केजी तौल समूहमा नेपालकी देवी चौधरी यसपालि पनि कास्य पदकभन्दा माथि उठन् सकिनन् । नेपाल प्रहरीमा आबद्ध उनले १२ औं संस्करणमा नेपाललाई कास्य दिलाएकी थिइन् । यसपालि उनले १५३ किलो तौल उठाउँदै कास्य जितेकी हुन् । उनले स्न्याचमा ६८ र क्लीन एण्ड जर्कमा ८५ किलो तौल उठाइन् । सो तौल समूहमा भारतले नै स्वर्ण जित्न सफल भयो ।

भारतकी राखी हल्डरले स्न्याचतर्फ ९० र क्लीन एण्ड जर्कमा ११० गरी २०० किलो उठाउँदै शीर्ष स्थानमा रहिन् । यस्तै, श्रीलंकाकी भी। हर्षिकाले रजत जितिन् । उनले स्न्याचमा ७० र क्लीन एण्ड जर्कतर्फ १०० गरी कुल १७० किलो भार बहन गरिन् ।

स्वर्णविजेता कमल कास्यमा सीमित

साग भारोत्तोलनमा अघिल्लो संस्करणसम्म एकमात्र स्वर्ण विजेता नेपालका कमलबहादुर अधिकारी जारी १३ औं संस्करणको भारोत्तोलन प्रतियोगितामा कास्यमा सीमित भएका छन् ।

शुक्रबार पुरुष ६७ केजी तौल समूहअन्तर्गत कमलले कुल २५२ केजी तौलमात्र उठाउन सके । उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कतर्फ १४० तौल गरी कुल २५२ तौल भार बहन गरेका हुन् । पाकिस्तानी र श्रीलंकन खेलाडीको स्न्याचमै बढी लिफ्ट आएपछि कमल क्लीन एण्ड जर्कमा दबाबमा परेका थिए ।

प्रतियोगितामा पाकिस्तानका ताल्हा तालिवले स्न्याचमा १४० र क्लीन एण्ड जर्कमा १५२ गरी कुल २९२ तौल उठाउँदै स्वर्ण जिते । यस्तै श्रीलंकाका जेएसी लाक्मलले स्न्याचमा ११९ र क्लीन एण्ड जर्कमा १४४ गरी कुल २६३ तौल उठाउँदै रजत जितेका छन् । प्रतियोगितामा पहिलो सहभागिता जनाएको भुटानका तर्फबाट वीरबहादुर लिम्बु चौथो भए ।

शुक्रबार नै पुरुष ७३ केजी तौल समूहमा नेपालले अर्को कास्य जित्न सफल भएको छ । नेपालका प्रकाश केसीले कास्य जित्न सफल भएका हुन् ।

प्रतियोगितामा भारतका अचिन्ता सेउलीले स्वर्ण र पाकिस्तानका अबु सुफयानले रजत पदक जितेका छन् । भारतीय खेलाडीले स्न्याचमा १३५ र क्लीन एण्ड जर्कमा १६५ गरी कुल ३०० केजी तौल उठाउँदै स्वर्ण जितेका हुन् ।

यस्तै पाकिस्तानी खेलाडीले स्न्याचमा १२८ र क्लीन एण्ड जर्कमा १५१ गरी कुल २७९ तौल उठाउँदै रजत र नेपालका प्रकाश केसीले स्न्याचतर्फ ११५ र क्लीन एण्ड जर्क विधामा १५० गरी कुल २६५ तौल उठाएका हुन् ।

More News last news
Loading...