काठमाडौं । नेपालले नादेझ्दा कप फुटबल प्रतियोगितामा सानदार जित निकालेको छ। किर्गिस्तानमा आइतबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले घरेलु टोली किर्गिस्तानलाई ८-२ गोलले पराजित गर्यो।
नेपालको सानदार जितमा सावित्रा भण्डारीले चार गोल गरिन्। अनिता बस्नेतले दुई तथा कप्तान नीरू थापा र दीपा राईले एक–एक गोल गरिन्। जितसँगै नेपालले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।
आइतबार नै भएको अर्को खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२-० गोलले हराएको छ। पहिलो खेलसँगै उज्वेकिस्तान तीन अंकसहित शीर्ष स्थानमा छ। नेपाल गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ। चार टोली सम्मिलित प्रतियोगितामा नेपालले सोमबार उज्वेकिस्तान र मंगलबार ताजकिस्तानसँग खेल्नेछ।
लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल बिहीबार हुनेछ । अन्तिम दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि नादेझ्दा कपमा सहभागिता जनाएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
