विश्वकप क्रिकेट: इङ्ग्ल्यान्ड बन्यो विश्व विजेता

विश्वकप क्रिकेट २०१९ को रोमाञ्चक फाइनलमा न्यूजील्यान्डलाई हराउँदै इङ्ग्ल्यान्ड पहिलो पटक विश्वविजेता बन्न सफल भएको छ।

क्रिकेटको मक्का मानिने लन्डनको लर्ड्स मैदानमा सम्पन्न खेल निर्धारित ५० ओभरमा बराबर भएको थियो। त्यसपछिको सुपर ओभरमा खेलमा बराबरी भए पनि धेरै बाउन्ड्रीका आधारमा इङ्ग्ल्यान्ड विश्वविजेता बन्न सफल भयो।यो इङ्ग्ल्यान्डको पहिलो विश्वकप उपाधि हो।

Advertisement

एकदिवसीय क्रिकेट प्रतियोगितामा २३ वर्षपछि नयाँ विश्वविजेताका रूपमा इङ्ग्ल्यान्ड उदाउन सफल भएको हो।प्रतियोगिताको अन्तिम खेलमा टस जितेको न्यूजील्यान्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। अन्तिम खेलको बिहान लर्ड्समा पानी परेको थियो जसका कारण पिच बलरहरूका लागि उपयुक्त हुने मानिएको थियो।

न्यूजील्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २४१ रन बनायो।

रोमाञ्चक खेल

इङ्ग्ल्यान्डका लागि लक्ष्य खासै ठूलो नभए पनि प्रारम्भिक ब्याट्स्म्यानहरूले लय समात्न नसक्दा उसको सुरुवात त्यति राम्रो हुन सकेन।

त्यति हुँदाहुदै पनि अन्तिम बलमा इङ्ग्ल्यान्डले २४१ रन बनाएर न्यूजील्यान्डसँग बराबरी गर्न सफल भयो। त्यसपछि खेल सुपर ओभरमा प्रवेश गर्‍यो। सुपर ओभरमा पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले छ बलमा १५ रन बनायो।

जितका लागि १६ रन आवश्यक भएको अवस्थामा पाँच बलमा न्यूजील्यान्डले १४ रन जोड्यो। अन्तिम बलमा उसलाई दुई रनको आवश्यकता थियो। तर न्यूजील्यान्डले एक रन मात्र बनाउन सक्यो।

दोस्रो रन जोड्ने क्रममा मार्टिन जेम्स गुप्टिल रन आउट भएपछि खेल बराबरी हुन पुग्यो र जितको निर्धारण बाउन्ड्रीको सङ्ख्याका आधारमा भयो।

सुपर ओभरमा इङ्ग्ल्यान्डले दुई पटक चौका प्रहार गरेको थियो। न्यूजील्यान्डले एउटा छक्का प्रहार गरेको थियो।निर्धारित ५० ओभरमा इङ्ग्ल्यान्डको तर्फबाट प्रहार भएको चौका र छक्काको सङ्ख्या २४ थियो भने न्यूजिल्यान्डको १६।

प्लेयर ‍अफ द म्याच इङ्ग्ल्यान्डका बेन स्टोक्सले अविजित ८४ रन बनाएका थिए। त्यस्तै न्यूजील्यान्डका कप्तान केन विलियम्सन प्लेयर अफ द सिरिज बन्न सफल रहे। बीबीसीको सहयोगमा

More News last news
Loading...