कोपा अमेरिकाः चिलीलाई हराउँदै अर्जेन्टिना तेस्रो, स्टार खेलाडी मेस्सीले खाए रेड कार्ड

एजेन्सी । कोपा अमेरिका २०१९ को तेस्रो स्थानको खेलमा अर्जेन्टिनाले चिलीलाई  २ १ ले पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा सर्जियो अगुएरो र पाउलो डिबालाको गोलमा अर्जेन्टिनाले जित दर्ता गरेको हो ।

खेलको १२ औं मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले लिओनेल मेस्सीको पासमा गोल गरेका थिए । त्यसको १० मिनेटपछि डिबालाले अर्जेन्टिनाको अग्रता दोब्बर पारे । जिओभानी लो सेल्सोको पासलाई सदुपयोग गर्दै डिबालाले प्रतियोगिताको पहिलो गोल गरे ।

Advertisement

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीका खेलाडीले अनावश्यक फल प्रहार गरिरहेका थिए । पहिलो हाफको ८ मिनेट समय बाँकी रहँदा चिलीका ग्यारी मेडेल र अर्जेन्टिनाका लिओनेल मेस्सीलाई रातो कार्ड देखाए । रेफ्रीले दुवै खेलाडीले एक अर्कालाई ठेल्न थालेपछि रातो कार्ड देखाएका थिए ।

बल बाहिर गइसकेपछि मेडेलले मेस्सीलाई टाउकोले हान्न खोजेका थिए, तर रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिए । दोस्रो हाफमा चिलीले गोल फर्काउँदै खेलमा फर्कने संकेत देखायो । आर्टुरो भिडालले पेनाल्टीमा गोल गर्दै खेल २–१को स्थितिमा ल्याए । थप गोल हुन नसक्दा अर्जेन्टिनाले तेस्रो स्थान हासिल गर्यो ।

कोपा अमेरिकाको फाइनलमा आइतबार ब्राजिल र पेरु खेल्दैछन् । ब्राजिलले अर्जेन्टिना र पेरुले चिलीलाई पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएका हुन् ।

More News last news
Loading...