यू-१९ विश्वकप क्रिकेट छनोट : नेपालले मलेशियालाई आठ विकेट हरायो

अन्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताको एशिया छनोट प्रतियोगितामा नेपालले मलेशियालाई आठ विकेटले पराजित गरेको छ। यो विजयसँगै नेपाल अङ्कतालिकामा दोस्रो स्थानमा पुगेको छ।

स्पिनरद्वय पवन सराफ र कुशल मल्लले तीन-तीन विकेट लिएपछि नेपालले आयोजक मलेशियालाई ३३.५ ओभरमा ९२ रनमा सीमित पार्‍यो। दोस्रो इनिङ्समा ब्याटिङ गर्दा नेपालले १९ ओभरमै लक्ष्य पूरा गर्‍यो। प्रारम्भिक ब्याट्सम्यान रित गौतमले ३९ रन बनाए भने आसिफ शेख र सराफले क्रमश: २६ र १९ रन बनाए। ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट खेल प्रदर्शन गरेका सराफ प्लेयर अफ द म्याच घोषित भए।

Advertisement

उनले ८.५ ओभर बलिङ गर्दा १३ दिएर तीन विकेट लिएका थिए्। टस जितेर फिल्डिङ रोजेको नेपालले सुरुदेखि नै मलेशियालाई दबावमा राखेको थियो। कमल सिंह ऐरीले मलेशियाका प्रारम्भिक ब्याट्सम्यान असलम खानलाई तेस्रो बलमै आउट गरेपछि मलेशिया खाता खोल्नअघि नै दबावमा परेको थियो। ऐरीले वान अमिरुललाई पनि सात रन बनाएपछि पभेलियन फर्काइदिएका थिए।

मलेशियाको प्रयास विफल
मलेशियाका कप्तान मोहमद आमिर र लेजात ड्यानियल फिक्रीले मलेशियालाई खेलमा फर्काउन प्रयास गरेका थिए। उनीहरूले तेस्रो विकेटका लागि ३६ रनको साझेदारी गरे। तर ‍१३औँ ओभरमा सराफले १३ रन बनाएर खेलिरहेका आमिरलाई बोल्ड गरिदिएपछि मलेशियाले फेरि अर्को राम्रो साझेदारी गर्न सकेन।

मलेशियाका लागि सर्वाधिक ३७ रन बनाएका फिक्रीलाई मल्लले २१औँ ओभरमा आउट गरे। त्यसपछि आएका ब्याट्सम्यानले खासै रन जोड्न सकेनन्।

नेपाल दोस्रो स्थानमा
तीन खेलपछि दुई जितमा बटुलेको चार अङ्कसहित नेपाल दोस्रो स्थानमा छ। दोस्रो खेलमा नेपाललाई हराएको यूएई छ अङ्कसहित यूएई शीर्ष स्थानमा छ। छ राष्ट्र सम्मिलित प्रतियोगिताको विजेताले सन् २०२० मा दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिका खेलाडीको विश्वकप क्रिकेट प्रतियोगिताका स्थान पाउनेछ। प्रतियोगितामा नेपालले राम्रो सुरुवात गरेको थियो।

कप्तान रोहित पौडेलको ९५ रनको आधारमा नेपालले सिङ्गापुरलाई २१७ रनले हराएको थियो। सो खेलमा पहिलो ब्याटिङ गर्दै नेपालले २८२ रन बनाएको थियो र सिङ्गापुरलाई ६५ रनमै सीमित पारेको थियो।

दोस्रो खेलमा पनि नेपालले राम्रो सुरुवात गरेको थियो। हरि चौहान र भीम सार्कीले अर्धशतक बनाएपछि नेपालले ५० ओभरमा २४७ रन बनाएको थियो। तर यूएईले ३० ओभरमा तीन विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएपछि डीएलएस मेथडको आधारमा नेपालले खेल हार्न पुग्यो।

More News last news
Loading...