वीरगञ्ज । चिकित्सक श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी महिलाको उपचारका क्रममा निधन भएको छ।
वीरगञ्ज महानगरपालिका वडा नं २० स्थित हरपतगञ्जकी ४५ बर्षीया सुनीता यादवको शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो।
सुनीता नारायाणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. सचितानन्द यादवको जेठी श्रीमती हुन्। उनलाई यादवले निर्घात कुटपीट गरेको आरोप माइती पक्षको छ।
‘अपरान्ह उनको मृत्यु भएको खबर हामीलाई आएको छ’ उनले भने, ‘डा. एसएन यादवले आइरन तताएर डाम्नुको साथै निर्घात कुटपीट गरेको जानकारी हामीसँग छ । उनी र उनको परिवारका सदस्य विरुद्ध उजुरी पनि दिएका छौं । कडा कारबाही हुनुपर्छ ।’
डा. सचितानन्द वीरगञ्जमा डा। एसएन यादव नामले परिचित छन् । चैत ६ गते बुधबार होलीको दिन राति डा। यादवले वीरगञ्ज महानगरपालिका वडा नं २० स्थित हरपतगञ्जमा सुनितालाई निर्घात कुटपिट गरेको दाबी माइती पक्षले गरेका छन्।
बिहीबार उनलाई अचेत अवस्थामा उद्दार गरेर उपचारका लागि गण्डक अस्पतालमा पुर्याइएको थियो । आईसीयूमा राखेर उपचार गर्दा पनि अवस्थामा सुधार नआएपछि चैत १२ गते थप उपचारका लागि काठमाडौं ल्याइएको थियो।
शुक्रबार अपरान्ह उनको निधन भएको छ । उनका श्रीमान डाक्टर यादव प्रहरी नियन्त्रणमा छन् । स्वास्थ्य अवस्थामा समस्या देखिएपछि डा. यादव नारायाणी अस्पतालको आईसीयुमा उपचाररत छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
