घलेगाउँ सँगसँगै पुग्नै पर्ने मनमोहक भुजुङ गाउँ (फोटो स्टोरी)
काठमाडौं । प्रदेश नं ४ अन्तर्गत पर्ने लम्जुङ जिल्लाको क्ह्लोसोंथर गाउँपालिका वडा नं ३ मा पर्ने निकै रमणीय र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण गाउँ हो, घले गाउँ । जहाँ आन्तरिक पर्यटकसँगै बाह्य पर्यटकहरु स्थानीयपनमा रमाउने गर्दछन् ।
पृथ्वी राजमार्गमा अवस्थित तनहुँको डुम्रेबाट करिब ४२ किलोमिटरको दूरीस्थित लम्जुङको सदरमुकाम बेंसीशहर पुगेपछि वेशीशहरबाट करिब २६ कि.मी. डाडाँकाडाको रमाईलो र प्राकृतिक सौन्दर्यताको अवलोकन गर्दै घलेगाउँ पुग्न सकिन्छ । लम्जुङको सदरमुकाम वेशीशहरबाट उकालो लाग्दै गर्दा केहि बाटो ग्राभेल छ भने केहि बाटो कच्ची पनि छ तर त्यति असहज भने लाग्दैन् । सार्वजनिक यातायातमा जान चाहाने पर्यटकहरुका लागि सार्वजनिक यातायातको व्यबस्था पनि छ ।

सदरमुकाम वेशीशहरबाट समय समयका घलेगाउँ र भुजुङ गाउँसम्म पुग्ने यातायातको राम्रो प्रबन्ध छ । सार्वजनिक यातायात जीप तथा मिनिबसमा घलेगाउँ पुग्ने पर्यटकहरुका लागि गाडीले ३ सय देखि ३ सय ५० रुपैयाँसम्म भाडा लिने गर्दछन् । घलेगाउँ पुग्ने सडक फराकिलो र ग्राभेल गरिएका कारण यात्रा त्यती कष्टकर छैन् । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने यो गाउँ करिब सात सय वर्ष पुरानो मानिन्छ ।
घलेगाउँको ग्रामीण परिवेश र होम स्टे
घलेगाउँ पुग्ने जो कोहि पनि रमाउने भनेकै ग्रामीण परिवेश र होम स्टे मा नै हो । घलेगाउँमा करिब १ सय २० घरधुरी रहेका छन् जसमा करिब ५ सय वढी जनसंख्या बसोबास गर्दछन् । घलेगाउँमा रहेका सबै घरमा होमस्टे भने छैन् १ सय २० मध्ये ३१ वटा घरमा होमस्टे सञ्चालन गरिएको छ ।

पर्यटन व्यबस्थापन समिति घलेगाउँका कार्यालय सचिव दिर्घ घलेका अनुसार पर्यटकहरु घलेगाउँ आईसकेपछि आफूहरुको समितिको माध्यमबाट दर्ता गराएर होमस्टेमा बस्न सकिने छ । ‘जो कोहि पर्यटक आएपछि हाम्रो समितिमा आउनुहुन्छ अनि हामीले पर्यटकको संख्या हेरेर उहाँहरुलाई सहज हुने होमस्टेमा पठाउँछौ’ उनले भने । पर्यटकका लागि सहजकर्ता बनिदिए वापत र समिति सञ्चालनका लागि पर्यटन व्यबस्थापन समितिले पर्यटकहरुसँग १५ प्रतिशत अतिरिक्त शुल्क लिने गर्दछ जसले पर्यटकहरुका लागि विभिन्न बुस्रर, जानकारीमुलक पुस्तकहरु र वोर्डहरु राख्ने गर्छ । जसका कारण घलेगाउँ घुम्ने पर्यटकलाई सहजता समेत हुन्छ ।

यस गाउँमा पुग्ने पर्यटकलाई टीका, फूलमाला पहिर्याएर गुरुङ संस्कृति झल्किने परम्परागत गुरुङ संस्कृति घाँटु, सोरठी, नृत्यमार्फत स्वागत गर्ने र बसाई सम्पन्न भईसकेपछि जाने बेलामा समेत फूलमाला र टिका लगाई पुनः आउनुहोला भन्दै आदार सत्कार सहित बिदा गर्ने प्रचलन रहेको स्थानीय गम बहादुर गुरुङ बताउँछन् । ठुलो टिममा आउने र अझ वृहत रुपमा सांस्कृती कार्यक्रममा रमाउन चाहानेहरुका लागि रु ५ हजार लिएर पनि विशेष प्रकारको सांस्कृतीक कार्यक्रमको आयोजना पनि गर्ने गरेको सचिव घलेले जानकारी दिए ।

हाल घलेगाउँ र भुजुङमा सञ्चालन भईरहेको होमस्टेलाई अन्य ४ वडाहरुमा पनि विस्तार गरेर पर्यटनको दायरालाई अझ फराकिलो बनाउने र घलेगाउँलाई कसरी स्मार्ट भेलेज बनाउन सकिन्छ भन्ने बारेमा पनि परामर्श भईरहेकाले आगामी केहि बर्षमा स्मार्ट भेलेज बनाउने तयारीमा जुटिरहेको क्ह्लोसोंथर गाउँपालिकामा अध्यक्ष प्रेमबहादुर घलेले ताए । घलेका अनुसार घलेगाउँ पुग्ने बाटो पीच गर्ने कार्य अगाडी वढिरहेको र यहि बर्षभित्र ४ कि.मी. सम्म पीच गरिने र अरु एक दुई बर्षमा थप सडक पीच गरेर पर्यटकलाई अझै सहज तरिकाले घलेगाउँ पुर्याउने तयारी छ ।

खानपान र बासस्थान
स्वदेशी होस् या विदेशी पर्यटक घलेगाउँमा पुगेर रमाउने भनेकै होमस्टेमा नै हो । यहाँ होमस्टेमा बस्नका लागी त्यती महँगो पनि छैन् । एकरातका लागि बस्न खानका लागी नेपालीहरुका लागि करिब ८ सयदेखि १२/१५ सयसम्म र विदेशीहरुका लागि करिब १५ सयदेखि २ हजारसम्म खर्च भए पुग्छ ।

घलेगाउँ पुग्ने जो कोहि पनि होमस्टेमै रमाउने गर्दछन् यद्यपी होटल तथा रिर्सोटमा बस्न चाहानेहरुका लागि पनि विकल्प भने छ तर यहाँ होमस्टे नै प्रमुख विशेषता भएका कारण होटल र रिसोर्टमा थोरै पर्यकहरु मात्र पुग्ने गर्दछन् । रिसोर्टमा बस्न चाहाने पर्यटकका लागि भने एक रातमा करिब २५ सयदेखि ३ हजारसम्म खर्च हुने कार्यालय सचिव घले बताउँछन् । होमस्टे सञ्चालनका लागि बनाईएका परम्परागत शैलीका घरहरुले सबै पर्यटकको ध्यान केन्द्रित गर्ने गरेको छ ।

घलेगाउँमा पर्यटकहरु स्थानीय स्तरमै उत्पादित दाल, भात, तरकारी, ढिडो, मकै, भटमास, लोकल खसी कुखुरा, सागसब्जी र रक्सी पिउनेहरुका लागि लोकल रक्सी, तुम्बाको मज्जा लिने गर्दछन् । हिमालको काखमा आकर्षक गाउँ, स्वच्छ र प्राकृतिक वातावरण, स्थानीयपन, होमस्टेको मज्जा र गुरुङ संस्कृतीले गर्दा थोरै नै दिनको बिदा छुट्टाएर आउनेहरुले पनि निकै आनन्दित महसुस गर्ने पर्यटक लोकेन्द्र बहादुर थापा बताउँछन् ।

मनै लोभ्याउने मनमोहक हिमाल
घलेगाउँ आउने पर्यटकहरु होमस्टे, ग्रामीण परिवेशसँगै यहाँबाट देखिने आफ्नै आखाँ नजिकबाट देखिने लगभग आधा दर्जन हिमालले जो कोहिलाई लोभलाग्दो बनाईदिन्छ । कार्यालय सचिव घलेका अनुसार स्पष्ट मौसम खुलेका वेला एका बिहानै माछापुच्छे, अन्नपूर्ण, लम्जुङ, मनास्लु, हिमालचुली, बुद्ध हिमालसँगै बिहान सूर्य उदाउँदै गरेको सनराईजले पनि जो कोहिलाई पनि लालयित बनाउँछ ।

यसका साथै गुरुङ संस्कृती, गुरुङ संस्कृतिको चित्रण गर्ने सार्क भिलेज पर्यटन संग्रालय, परम्परागत शैलीका घरहरु, भ्युटावर, भ्युटावर, भेडीगोठले समेत पर्यकको मन लोभाउने गर्दछ । यसका अलवा गुरुङ ड्रेसमा रमाउन र फोटो खिचाउन चाहाने पर्यटकका लागि एक घण्टाको रु एक सय रुपैयाँमा ड्रेसको पनि प्रबन्ध मिलाईएको छ । पदयात्रा पर्यटनको पनि सम्भावना बोकेको यो गाउँसँग तीन वटा पदयात्रा मार्ग समेत जोडिएका छन् । घलेगाउँ पुगेका अधिंकाश पर्यटकहरु नजिकैको अर्को पर्यटकीय र मनमोहक भुजुङ गाउँ पुग्ने गर्दछन् केहि पर्यटक त्यहीबाट फर्कने गर्दछन् ।

भुजुङ गाउँ
लम्जुङ जिल्लाको क्ह्लोसोंथर गाउँपालिका अन्तर्गत वडा नं ४ मा अवस्थित पर्यटकीय दृष्टिकोणले भरिपूर्ण अर्को पर्यटकीय गाउँ हो भुजुङ गाउँ । ‘एक गाउँ एक गाविस’ ले चर्चित बनेको पर्यटकीय यस गाउँ देशमा संघीयता पश्चात ‘एक गाउँ एक वडा’ का नामले प्रशिद्ध छ ।

घलेगाउँबाट करिब १० किलोमिटरको दुरीमा भुजुङ गाउँ पर्दछ । केहि स्थानमा मोरबाटो अलिक अप्ठ्यारो रहेपनि अधिकाशं कच्ची बाटो भएपनि सहज नै लाग्छ अझ भुजुङ गाउँ पुग्नै लाग्दा ढुंगा छापेको बाटोले पनि पर्यटकहरुको मन तान्छ ।

परम्परागत शैलीका घरहरु बाट सजिएको यस गाउँका ३ सय ७५ घरधुरीमा करिब १२ देखि १५ सय जनसंख्या रहेका छन् । यस गाउँमा प्राय सबै गुरुङ समुदायका व्यक्तिहरु बसोबास गर्दछन् केहि घरहरु भने दलित समुदायका पनि रहेका छन् ।

यहाँका स्थानीयहरु फुर्सदको समयमा डोको, नाम्लो, डालो, मान्द्रो, घुम, भकारी, राडीपाखी, बख्खु, पुवाबाट थैलो, झोला, भाङग्रा जस्ता हस्तकला सामानहरू बुन्ने गर्दछन् । घलेगाउँ पुगेका जो कोहि पर्यटक पनि भुजुङ गाउँ पुग्ने गरेका छन् । घलेगाउँमा जस्तै यस गाउँको पनि प्रमुख विशेषता होमस्टे नै हो ।

यहाँका २२ वटा घर होमस्टे सञ्चालनका लागि दर्ता भएको भएपनि १७ वटा घरमा मात्र अहिले होमस्टे सञ्चालन भईरहेको भुजुङ गाउँ पर्यटन व्यबस्थापन उपसमितिका व्यबस्थापक सुकबहादुर गुरुङले जानकारी दिए । आफूहरुको गाउँमा अर्गानीक खानेकुराहरु लोकल रक्सी, छ्याङ, तुम्बा, लोकल सुकुटी, ढिडो, स्थानीय स्तरमै उत्पादित चामलको खाना, मकै लगायतका परिकारमा पर्यटकहरु औधी रमाउने गरेको होमस्टे सञ्चालक स्थानीय टेकबहादुर गुरुङ बताउँछन् ।

ग्रामीण पर्यटन र टिपिकट गाउँको अवलोकन गर्ने चाहानेहरुका लागि भुजुङ गाउँ छुटाउनै नहुने गन्तब्य रहेको पर्यटक र स्थानीयहरु बताउँछन् । घलेगाउँमा हिमाल र अन्य विविध पक्षको अवलोकन गर्न पाएपनि पर्यटकीय गाउँको हिसावले अझ रमाईलो र टिपीकल भुजुङ गाउँ रहेको एक आन्तरिक पर्यटकले बताए । होमस्टेमा बस्ने र खानेको व्यबस्था भुजुङ गाउँमा पनि रहेको छ । जसका लागि २ गाउँको रकममा खासै भिन्नता पनि छैन् ।

“न्याय नपाए गोर्खा जानु, संस्कृति खोज्न भुजुङ जानु’’ भन्ने भनाई जस्तै यस गाउँमा गुरुङहरूको परम्परागत रितिरिवाज, भेषभुषा, भाषा, संस्कृति र पहिचानले पर्यटकको मन जित्छ । यस गाउँका धेरै युवाहरु वैदेशिक रोजगारमा रहेका छन् भने गाउँका केहि व्यक्तिहरु बसाई सरेर लम्जुङको वेशीशहर, कास्कीको पोखरा र चितवन सम्म पुग्ने गरेका छन् । गाउँमा कोहि कसैको घरमा केहि पुजा आजा तथा बिवाह तथा उत्सवमा सबै घरमा निम्ता दिने यहाँका स्थानीयहरुको चलन छ ।

पहिले–पहिले यस गाउँको बिकास हुन नसकेपनि भुजुङमा बि.सं. २०५० सालमा राष्ट्रिय प्राकृतिक संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को स्थापना भएपछि भुजुङ गाउँ अझ बिकसित भएको व्यबस्थापक गुरुङ बताउँछन् । उनी थप्छन्,‘अहिले हाम्रै गाउँमा मा.वि. सम्मको बिद्यालय, स्वास्थ्य चौकी, शिशु स्याहार केन्द्र, बालबिकास केन्द्र र बिद्युतका लागि स्थानीय स्तरमै सञ्चालित मिदिम खोला माईक्रोहाईड्रो रहेको छ जसले हामीलाई सहज भएको छ । ’

इलामको झल्को दिने चियावारी र कईयो झरना
इलामको चियावारीको झल्को दिने भुजुङमा रहेको चियावारीले जो कोहि पर्यटकको मन लोभ्याउँछ र फोटो खिचु खिँचु बनाउछ । एक्याप, गाउँपालिका र स्थानीयहरुको पुर्णत लगानीमा चियावारी छ । चियावारीको यति भाग यति घरको भनेको छुटाईएको र त्यसमा स्थानीयहरु मिलेर काम गर्ने र आम्दानी भएको रकमहरु पनि वाढ्ने गरेको भुजुङ गाउँ उपसमितिका व्यबस्थापक सुकबहादुर बताउँछन् ।

भुजुङ गाउँवाट देखिने तल्क्यु, घिम्चे, चिलिन्चे, रम्जै, कम्दी, किज्गो जस्ता खेती योग्य फाँटहरू, त्रिभुवन गुफा, स्थानीय स्तरमा सञ्चालित सामान ओसारपोसारका लागि बनाईएको रोप वे, बिजुलीका तारहरुको अण्डरग्राउण्ड व्यबस्थापन, ८० किलोवाटको मिदिम खोला हाईडो र गाउँकै अगाडि छङछङ झरी रहने कईयो झरनाले पर्यकलाई हर्षित र आनन्दित महसुस गराउँछ ।

पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु रहेको कईयो झरनालाई पर्यटन व्यबस्थापन उपसमितिले नै साहसिक क्यानोनिङ खेल सञ्चालनका रुपमा विकसित समेत गर्न लागेको र सञ्चालन भईसकेपछि पर्यटकहरुको आगमनमा अझै वृद्धि हुनेमा व्यबस्थापक सुकबहादुर गुरुङ ढुक्क देखिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
