धर्म परिवर्तन गर्ने अभ्यास रोक्नुपर्छ : गगन थापा

बनेपा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले धार्मिक स्वतन्त्रता भएको देशमा प्रत्येक व्यक्तिले आफ्नो धर्मको छनोट गर्ने कुरा उसको निजी कुरा भए पनि धर्म परिवर्तन गर्ने अभ्यास रोक्नुपर्ने बताउनुभएको छ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ छत्रेपाटीखर्कस्थित तिलेश्र मन्दिर संरक्षण समितिद्वारा आयोजित ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्संग महायज्ञ २०७५’ को दोस्रो दिन मङ्गलबार सहभागी हुनुभएका नेता थापाले कुन धर्म मान्ने र कुन धर्मको अभ्यास गर्छ गर्दैन भन्ने कुरा निजी भएको बताउनुभयो।

Advertisement

उहाँले भन्नुभयो, “धर्मको अभ्यास गरे पनि नेपालभित्र धर्म परिवर्तनको अभ्यास गर्ने कुरालाई राज्यले रोक्नुपर्ने हुन्छ, त्यो राज्यको दायित्व हो।” धर्म परिवर्तन गर्ने कुरालाई पूर्णरूपमा रोक्नुपर्ने उल्लेख गर्दै थापाले त्यसको अधिकार संविधानले नै नेपाल राज्यलाई दिएको बताउनुभयो।

उहाँले गाउँगाउँमा लाग्ने गरेको महायज्ञ धार्मिक प्रचारप्रसारको माध्यम भएकाले त्यसलाई सहयोग गर्नु सबैको दायित्व भएको उल्लेख गर्नुभयो। उहाँले हिन्दू, बौद्ध र किराँत धर्म नेपाल राज्यको पहिचान र परिचय भएकाले त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।

तिलेश्वर मन्दिर संरक्षण समितिद्वारा आयोजित मन्दिर प्रचारप्रसार, विकास तथा पुनःनिर्माण गर्न सहयोग जुटाउने उद्देश्यले भएको महायज्ञमा ५० लाख उठाउने लक्ष्य राखिएको समितिका संयोजक कृष्णबहादुर लामाले बताउनुभयो । उहाँका अनुसार मन्दिर निर्माणका साथै अन्य भौतिक संरचना निर्माणसहितको लागि करीब रु दुई करोडको गुरुयोजना तयार पारी काम अगाडि बढाइसकिएको छ।

सो महायज्ञमा कथा व्यास नारीरत्न विदुषी सुश्री अनुराधा शास्त्रीजी र देशव्यापी १०८ श्रीमद्भागवत सत्सङ्कल्प अभियानकर्ता मुमुक्षु श्री उद्धव शर्माको कथा वाचन रहेको छ। सो महायज्ञ आगामी २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

More News last news
Loading...