विश्वकपको सेमिफाइनलमा फ्रान्स र बेल्जियम भिड्ने, को कति बलियो ?

काठमाडौं । रुसमा जारी विश्वकप फुटबलमा मंगलबारदेखि सेमिफाइनलका खेल सुरु हुँदै छन् । उपाधि यात्रामा रहेका चार मध्ये दुई टिमले मंगलबार अघि बढ्ने प्रयासमा प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो सेमिफाइनलमा मंगलबार राति पौने १२ बजे फ्रान्स र बेल्जियमबिच प्रतिस्पर्धा हुँदैछ । सेन्ट पिटर्सबर्गमा हुने खेलमा दुवै टिम फाइनलमा यात्रा तय गर्नका लागि कडा प्रतिस्पर्धामा हुने छन् । क्वाटरफाइनलमा फ्रान्सले दक्षिण अमेरिकी देश उरुग्वेलाई २–० ले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेको हो । यस्तै बेल्जियमले विश्वकपको सबैभन्दा सफल टिम पाँच पटकको विजेता ब्राजिलको सपना चकनाचुर पारेको हो ।

Advertisement

क्वाटरफाइनलमा बेल्जियमले नेइमारको टिम ब्राजिललाई २–१ ले हराएको हो । दुई दक्षिण अमेरिकी देशलाई हराएका युरोपेली देशबिच सेमिफाइनलमा प्रतिस्पर्धा हुन लागेको हो । फ्रान्स एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पेसहितका स्टार युवा खेलाडीले भरिएको छ भने बेल्जियमको टिममा पनि स्टार खेलाडीको कमी छैन । बेल्जियमको टिममा रामेलु लुकाकु, केभिन डी ब्राउन, इडन हजार्डसहितका युवा स्टार खेलाडी छन् ।

हेड–टू–हेड
फ्रान्स र बेल्जियमबिच मुख्य प्रतिस्पर्धामा यसअघि तीन पटक भेट भएको छ । त्यसमा फ्रान्सको पक्ष बलियो छ, तीनै खेलमा उसले जित निकालेको छ । यी दुई टोलीबिच विश्वकपमा यसअघि दुई पटक भेट भएको छ । फ्रान्सले सन् १९३८ को विश्वकपको पहिलो चरणमा बेल्जियमलाई ३–१ ले हराएको थियो ।

यस्तै सन् १९८६ को विश्वकपमा तेस्रो स्थानका लागि भएको प्ले–अफमा फ्रान्सले अतिरिक्त समयमा बेल्जियमलाई ४–२ ले निराश पारेको थियो । यस्तै फ्रान्सले सन् १९८४ मा भएको युरोपियन च्याम्पियनसिपको समूह चरणमा बेल्जियमलाई ५–० ले हराएको थियो । त्यो नान्टेसमा भएको खेलमा मिसेल प्लेटिनीले ह्याट्रिक गरेका थिए ।

फ्रान्ससँग भएका पछिल्ला तीन मैत्रीपूर्ण खेलमा भने बेल्जियम अपराजित छ । एक खेलमा विजयी भएको छ भने दुई खेलमा बराबरी भएको छ । पछिल्लो पटक सन् २०१५ को जुनमा भएको खेलमा बेल्जियम ४–३ ले विजयी भएको थियो ।

मुख्य प्रतिस्पर्धा, अरु प्रतिस्पर्धा तथा मैत्रीपूर्ण खेल गरी फ्रान्स र बेल्जियमबिच अहिलेसम्म ७३ पटक भेट भएको छ । त्यसमा बेल्जियम ३० तथा फ्रान्स २४ खेलमा विजयी भएको छ । १९ खेल भने बराबरीमा टुंगिएका छन् ।

More News last news
Loading...