काठमाडौं । आइसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता खेल्न जिम्बाब्वे गएको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश फर्किएको छ।
विश्वकप छनोट क्रिकेट प्रतियोगिताबाट एक दिवसीय अन्तर्राष्ट्रिय टोलीको हैसियत बनाएको नेपाली टोली ऐतिहासिक सफलताका साथ स्वदेश फर्किएको हो।
टोलीलाई स्वागत गर्न खेलकुदमन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, क्यानका पूर्वसीइओ भावना घिमिरेलगायतका अरु व्यक्तित्वहरु तथा सयौंको संख्यामा प्रशंसकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
विमानस्थलमा बोल्दै नेपाली टोलीका कप्तान पारस खड्काले ऐतिहासिक उपलब्धि संस्थागत गर्न क्यानको विवाद समाधान गर्नुका साथै घरेलु संरचना बलियो हुनुपर्ने बताए।

प्रतियोगिताका ६ मध्ये दुई खेलमात्रै जिते पनि एसोसिएट राष्ट्रहरुमा तेस्रो हुँदै नेपालले आगामी चार वर्षका लागि एक दिवसीय मान्यता पाएको हो।
समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअफ खेलमा पपुवा न्यूगिनीलाई हराउँदै एक दिवसीय मान्यता निश्चित गरेको हो।
सातौं स्थानका लागि भएको खेलमा भने नेदरल्यान्ड्ससँग ४५ रनले हारेपछि नेपाल प्रतियोगिताको आठौं स्थानमा सीमित बन्यो।
सन् १९८८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को मान्यता पाएको नेपालले ३० वर्षको अवधिपछि अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पाएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
