बीबीसी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यदि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प स्टिल र अलुमिनियम आयातमा करहरू बढाउने आफ्नो योजना अनुसार अघि बढे त्यसले गम्भीर बाधाहरू ल्याउने चेतावनी दिएका छन्।
ट्रम्पको प्रस्तावलाई अस्वीकार्य भन्दै ट्रुडोले क्यानडाले आफ्ना उद्योगहरू जोगाउने बताए। अमेरिकाले सजिलै व्यापार युद्ध जित्छ भन्ने ट्रम्पको दाबीविरुद्ध आएका चेतावनीको श्रृंखला मध्ये यो पछिल्लो हो।
आयातमा कर लगाउँदा त्यसले अन्तर्राष्ट्रिय स्तरमा मात्रै नभइ स्वयं अमेरिकालाई पनि क्षति पुर्याउने भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ०ले सचेत गराएको छ।
ट्रम्पले अन्य देशबाट खरिद गरिएका स्टिल र अलुमिनियममा कर लगाउने निर्णय मुख्य गरी राष्ट्रिय सुरक्षाका कारण भएको बताएका छन्। आइएमएफले भने अन्य देशहरूले पनि यही कारण देखाउँदै व्यापारमा कडा प्रतिबन्धहरू भविष्यमा लगाउन सक्ने जनाएको छ।
यसअघि युरोपेली आयोगका अध्यक्ष जाँ क्लड योकंरले ट्रम्पको उक्त निर्णय युरोपेली उद्योगका लागि उचित नभएको भन्दै आफू त्यसबारे चुप लागेर नबस्ने बताएका छन्। ट्रम्पले बिहीवार स्टिल र अलुमिनियम धातु आयातमा कर लगाउने घोषणा गरेका थिए। यो कदमपछि विश्वभरका देशहरूबाट आक्रोशपूर्ण प्रतिक्रियाहरू आएका छन्।
ट्रम्पको यो कदमको अन्तर्राष्ट्रिय समुदायले मात्रै नभइ देशभित्रैका यी धातुहरू खरिद गर्ने कम्पनीहरूले पनि आलोचना गरेका छन्। तर यी धातु उत्पादन गर्नेहरूले भने ट्रम्पको यो कदमको स्वागत गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
