बीबीसी । अमेरिकाको नागरिकता तथा आप्रवासन हेर्ने सरकारी निकाय यूएससीआईएसले सामाजिक सञ्जालमा आप्रवासीहरूले लेखेको कुराको अन्लाइन अनुवाद गरेर परीक्षण गरेको भन्दै आलोचना भएको छ। उक्त निकायका कर्मचारीलाई उपलब्ध गराइएको पुस्तिकामा गुगल ट्रान्स्लेट र बिङको सहायतामा अनुवाद गर्नु “अतिप्रभावकारी उपाय” भएको उल्लेख गरिएको छ।
प्रोपब्लिका नामक समाचार साइटले अन्लाइन टूलहरूले प्राय: वाक्यको गलत अनुवाद गर्ने तथा अर्थको सूक्ष्म अन्तर र बोलीचालीको भाषाको अनर्थ लगाइदिने जनाएको छ। तर यूएससीआईएसले उक्त साइटलाई सामाजिक सञ्जालका पोस्टको परीक्षण गर्नु व्यावहारिक उपाय भएको बताएको छ।
उसका अनुसार केवल सामाजिक सञ्जालबाट सङ्कलित सूचना शरणार्थीलाई पुनर्वास नदिने आधार बन्दैन। नयाँ नियमानुसार अमेरिकाको प्रवेशाज्ञाका लागि सबै आवेदकले आफूले चलाउने सामाजिक सञ्जालका खाताहरूको विवरण बुझाउनुपर्छ।
अमेरिकामा शरणार्थीको मान्यता पाइसकेका व्यक्तिका पति, पत्नी वा छोराछोरीको परीक्षण गर्ने विधि उक्त पुस्तिकामा उल्लेख गरिएको छ। इन्टरन्याश्नल रेफ्युजी असिस्टन्स प्रोजेक्टले उक्त पुस्तिका भेटेपछि प्रोपब्लिकालाई उपलब्ध गराएको थियो।
त्यस पुस्तिकामा कहिलेकाहीँ अन्लाइन अनुवादले बोलीचालीको भाषा पूरै नबुझ्ने स्वीकार गरिएको छ। कर्मचारीले विशेषज्ञको सहायतामा अनुवाद गर्नुपर्ने वा नपर्ने निर्णय काममा खटिएका कर्मचारीले लिन सक्ने बेहोरा त्यसमा उल्लिखित छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
